खबर पूर्वाञ्चल
आज भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब जोगवनीलाई फराकिलो १०७ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २ सय १९ रनको विशाल स्कोर बनायो । होराइजनका मिनस थापाले आक्रमक ब्याटिङ गर्दै ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरी ५२ रनको अर्धशतकीय पारी खेले । उनको साथ अभिषेक कार्कीले अविजित १५ बलमा ४६ रन बनाए, जसमा ३ छक्का र ६ चौका प्रहार गरे । फिर्दाेश अन्सारीले अविजित ३० बलमा १ छक्का र ५ चौकाको मद्दतले ४१ रनको योगदान दिए भने अटल साहले १५ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाए । जोगवनीका अभिषेक राजाले सर्वाधिक ३ विकेट लिए ।
२२० रनको विशाल लक्ष्य पछ्याएको प्रशान्त क्रिकेट क्लब जोगवनीले १४ दहमलव १ बलमा सवै विकेट गुमाई ११२ रनमा सिमित भयो । जोगवनीका अमन राजले १७ बलमा २८ रन बनाउँदा आदित्य राजले १७ रन र असफाक अन्सारीले १२ रनको योगदान दिए ।
विजेता टोली होराइजनका नेपालका यु–१९का खेलाडी दिपेश कँडेलले ३ विकेट लिँदा फिर्दोस अन्सारीले २ मिनस थापाले २–२ विकेट हात पारे ।
हाराइजका अलरनण्डर खेलाडी मिनस थापा खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरूप नगद तीन हजार एक सय रुपैयाँ प्राप्त गरे ।
आइतबार दुई वटा खेलहरू हुनेछ । पहिलो खेल भारतको दिल्ली युथ क्लब र फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाबीच हुनेछ भने सोही दिन हुने दोस्रो खेल सिरहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णियाबीच हुने आयोजकले जनाएको छ ।
मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताभर सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरी २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसका साथै, प्रतियोगिताको सर्वाधिक रन बनाउने उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
चौथो संस्करणको यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी १२ टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिता आगामी चैत ३० गतेसम्म सञ्चालन हुनेछ । मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगर क्षेत्रमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि विगत वर्षहरूदेखि आयोजना हुँदै आएको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन र मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजनामा भएको यस प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले गरे । उद्घाटन समारोहमा बोल्दै उनले कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि यस प्रकारका प्रतियोगिताहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
‘कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि नेपाल र भारतबीचको यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउँछ,’ बस्नेतले भने, ‘यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउने अवसर प्रदान गर्दछ । प्रदेश सरकारले क्रिकेटलगायत सबै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा विशेष ध्यान दिइरहेको छ ।’