खबर पूर्वाञ्चल
५० वर्षको लामो इतिहास बोकेको यो विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरको सेन्ट्रल मलमा सञ्चालनमा आएको हो।
सन इन्टरनेशनल इनकर्पोरेटेड प्रालि र पूर्वी क्षेत्रका डिलर तसनीम कर्प प्रालिको संयुक्त लगानीमा यो आइसक्रिम ब्राण्ड नेपालको पूर्वी क्षेत्रमा भित्रिएको हो। सन इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका प्रमुख सौरभ ज्योति र तसनीम कर्प प्रालिका प्रमुख आमिर अख्तरको सहकार्यले यो सम्भव भएको कम्पनीले जनाएको छ।
विश्वस्तरीय आइसक्रिमको स्वाद अब पूर्वी नेपालीहरूले पनि लिन पाउने छन् । कम्पनीका अनुसार पूर्वी नेपालमा थप तीन आउटलेटहरू खोल्ने योजना रहेको छ। विराटनगरपछि इटहरी, धरान र विर्तामोडमा समेत क्वालिटी आइसक्रिम पार्लर खोल्ने तयारी भइरहेको तसनीम कर्प प्रालिका प्रमुख आमिर अख्तरले बताए। ‘हामीले अहिले सेन्ट्रल मलमा बिक्री सुरु गरिसकेका छौं र ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया पाइरहेका छौं,’ उनले थपे, ‘हाम्रो लक्ष्य अब छिटो भन्दा छिटो अन्य शहरहरूमा पनि सेवा विस्तार गर्ने रहेको छ।’
दुवईमा उत्पादित क्वालिटी आइसक्रिम शुद्ध गाईको दूधबाट बनाइएको र ९ फरक स्वादमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। चकलेट, भेनिला, स्ट्रबेरी, कफी, पिस्ता, म्याङ्गो, ब्लुबेरी, केसर पिस्ता र कुकीज एण्ड क्रिम स्वादका आइसक्रिमहरू अहिले उपलब्ध छन्।
विशेष गरी हरेक आइसक्रिम दुवईबाट सिधै आयात गरिने र उच्च गुणस्तरको प्याकेजिङमा निकै सावधानीपूर्वक ल्याइने गरिएको कम्पनीले जनाएको छ । यसका साथै प्रि प्याक गरिएका विभिन्न प्रकारका आइसक्रिम र आइसक्रिम केकहरू पनि उपलब्ध रहेका छन्।
शुरूवाती दिनहरूमै विराटनगरमा क्वालिटी आइसक्रिमले राम्रो प्रतिक्रिया पाएको छ। सेन्ट्रल मलमा आइसक्रिम चाखेका पत्रकार अनोज सापकोटाले भने, ‘यो साँच्चिकै फरक स्वाद छ, मिठो र क्रिमी। मूल्य केही महँगो भए पनि गुणस्तर हेर्दा ठिकै लाग्छ।’
क्वालिटी आइसक्रिम १९७१ मा दुवईमा स्थापना भएको थियो र हाल विश्वका १५ भन्दा बढी देशहरूमा यसका आउटलेटहरू रहेका छन्। नेपालमा यसअघि काठमाडौंमा पनि यसको आउटलेट सञ्चालनमा रहेको छ।