AArya
RUMPUM
animated ellipse animated ellipse

अझै पनि स्वास्थ्य सेवा आमजनताको पहुँचबाहिरै छ : नेता कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०८१, शनिबार १८:५७
621
Shares
विराटनगर/ नोना कोइराला स्मृति प्रतिष्ठान, बूढीगंगा गाउँपालिका र केएचडीसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले उद्घाटन गरे । कोइरालाले आफ्नो प्रेसर र सुगर जाँच गरेर शिविरको उद्घाटन गरेका हुन् ।

ग्रामीण क्षेत्र र आर्थिक रुपमा विपन्न समुदायलाई लक्षित गरी प्रतिष्ठानले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाले जानकारी दिइन् । घरदैलोमै पुगेर जाँच गर्दा सर्वसाधारणको स्वास्थ्यबारे जानकारी हुने र कुनै समस्या भए तत्कालै अस्पताल लगेर थप उपचार गर्न सहज हुने देखेर शिविर आयोजना गरिएको कोइरालाको भनाइ थियो ।

शिविरबाट ३ सय ५२ जनाले स्वास्थ्यलाभ लिनुका साथै १५ जनाले इकोसमेत गरेको महासचिव अमित श्रीवास्तवले जानकारी दिए । शिविरमा उच्च रक्तचाप, मधुमेह, इको, इसिजी, फोक्सोलगायतको जाँच गरिएको थियो । जाँचपछि औषधि खानुपर्ने बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको उनले बताए ।

वरिष्ठ नेता डा. कोइरालासहित बूढीगंगा गाउँपालिदकाका अध्यक्ष जितनारायण थापा मगर, वडाध्यक्ष सोमनाथ काफ्ले, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, सल्लाहकार डा. नारायणकुमारलगायतको उपस्थितिमा भएको शिविरमा केएचडीसी नेपाल प्रमुख प्रा.डा. संजीवकुमार शर्मा, अन्य चिकित्सक डा. उज्ज्वलकुमार साह, डा. ब्रजेशकुमार झा, डा. रोशन कार्की, डा. उत्सव दुलाल, डा. प्रज्वल गौतमलगायत चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चेकजाँच गरे । त्यसैगरी सोही शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षणसमेत गरिएको थियो ।

पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरुको मृत्युदरलाई कम गराउने उद्देश्यले निःशुल्क रुपमा जाँच गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अझै पनि आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको बताए । उनले स्वास्थ्य र शिक्षालाई आमजनताको पहुँचमा पु¥याउन तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए ।

संविधानको मौलिक हकमै समावेश गरे पनि जनताले अझै सहज रुपमा शिक्षा र स्वास्थ्य सेवा प्राप्त नगरेको कोइरालाको भनाइ थियो । आर्थिक अभावमा धेरै नागरिक रोग पालेर बस्न बाध्य भएको बताउँदै कोइरालाले कतिपयले अस्पतालको मुखै नदेखी मृत्युवरण गर्नुपरेको बताए ।

पछिल्लो समय पहाड र ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढ्नुको मुख्य कारण शिक्षा र स्वास्थ्य भएको उनले बताए । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजीमा पहाडबाट तराई र तराईका गाउँबाट सहर बसाइँ सर्ने क्रम बढेको नेता कोइरालाले दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर