पूर्वाञ्चल खबर
कोचाखालदेखि पश्चिम दिल्ली पब्लिक स्कूल पूर्वतर्फ घर भएका सर्जु मण्डलको तरकारी बारीमा गाडेको अवस्थामा १४ वर्षीय चाँदनी यादवको शव फेला परेको हो । बारीमा बालिकाको शव गाडेको अवस्थामा फेला परेपछि मोरङ प्रहरी घटनास्थललाई सुरक्षित गरेर खन्ने काम गरिरहेको छ । चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलीघर विराटनगर आएकी थिइन् ।
शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बारीमा शव गाडेको अवस्थामा फेला परेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको आशंका प्रहरीको छ ।
प्रवक्ता जोशीका अनुसार भारतबाट छोरी लिएर आएकी आमा एक्लै फर्किएकी थिइन् । छोरी लिएर माइत आएकी उनी एक्लै फर्किएको सूचना प्रहरीलाई पुगेको थियो । प्रहरीका अनुसार बालिकाको हत्या मावली घरमा भएको आशंकामा सबैलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ ।
आमा र उनका बुबालाई भारतबाट आउन खबर गरिएको छ । प्रहरीले घटनामा आमा र बुबासहितको संलग्नता हुनसक्ने आशंका गरेको छ । भारतमै बालिका प्रेम सम्बन्धमा परेपछि नेपाल ल्याइएको हो ।