खबर पूर्वाञ्चल
माघ १८ गते कोशी प्रदेशको राजधानी विराटनगरमा चौधौं प्याब्सन स्पोर्ट्स मिट हुने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राईले उद्घाटन गर्ने प्रतियोगिता २० गते सञ्चालन हुनेछ ।
मोरङ प्याब्सनमा आवद्ध २ सय १० विद्यालयका ३ हजार भन्दा बढी विद्यार्थी खेलाडीहरुले प्रतियोगितामा भाग लिने प्याब्सन मोरङ अध्यक्ष जगत बस्नेतले जानकारी दिए । उनका अनुसार स्पोर्ट्स मिट अन्तर्गत विभिन्न २५ वटा भन्दा बढी विधामा प्रतिष्पर्धा हुनेछ । करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको स्पोर्ट्स मिटमा सहभागि विद्यालयहरुको रजिष्ट्रेशन शुल्क र प्याब्सनको आन्तरिक स्रोतबाट लागत जुटाइने अध्यक्ष बस्नेतले बताए ।
प्याब्सन मोरङले २०६३ सालदेखि हरेक वर्ष प्याब्सन स्पोर्ट्स मिट सञ्चालन गर्दै आएको छ । प्याब्सन स्पोर्ट्स मिटमा कक्षा १० सम्मका छात्र र छात्रातर्फ गरि मैदानमा खेलाइने लङ्ग जम्प, हाई जम्प, ट्रिपल जम्प, सर्ट पुट र जेभलिन थ्रो का स्पर्धा हुनेछन् । यस्तै सोही कक्षाका फिल्ड इभेन्टमा भलिबल, टेबल टेनिस र फुटबल यू–१५ का स्पर्धाहरु हुनेछन् ।
ट्रयाक इभेन्ट तर्फ कक्षा १० सम्म छात्र र छात्राहरुको अलग–अलग १ सय मिटर, २ सय मिटर, ४सय मिटर, ८ सय मिटर, १५ सय मिटर दौड हुनेछ । यसैगरि सय गुणा ४ मिटर रिले दौड र ४सय गुणा ४ मिटर रिले दौडका स्पर्धा हुने प्याब्सन मोरङले जनाएको छ ।
कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि भने छात्र तर्फ भलिबल, फुटबल, टेबल टेनिस, बास्केटबल र म्याराथनका स्पर्धा हुनेछन् भने छात्रा तर्फ भलिबल, टेबल टेनिस र म्याराथनका स्पर्धाहरु हुने प्याब्सनका सचिव देवी सिटौलाले बताए। कक्षा ११ र १२ मा हिसान खेल सप्ताहमा सहभागि स्कुलले भने सहभागि हुन नपाउँने अध्यक्ष बस्नेतले बताए । हिसानमा जुन खेल खेलेको तेही खेल ब्याब्सन स्पोर्ट्स मिटमा खेल्न नपाउँने हो उनले जानकारी गराए ।
प्रतियोगितामा विजेताहरूलाई मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।