animated ellipse animated ellipse

पूर्वमन्त्री भगवती चौधरीका छोरामाथि गुन्डा समूहको सांघातिक आक्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ भाद्र २०८१, बिहीबार १८:४६
585
Shares
विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरमा पूर्वमन्त्रीका छोरामाथि गुन्डा समूहले सांघातिक आक्रमण गरेको छ ।

सुनसरीको दुहबी नगरपालिका–२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र २७ वर्षीय बालकृष्ण चौधरीमाथि विराटनगर महानगरपालिका–१० मा आक्रमण भएको हो । घटना भदौ १ गते दिउँसोको हो । प्रहरीका अनुसार ‘प्लाई’ खरिद गरेको हिसाब किताब मिलाउन विराटनगर आएका बेला उनीहरुमाथि आक्रमण भएको हो ।

द्रव्यराज पूर्वमन्त्री एवं फरवार्ड लघुवित्त वित्तीय संस्थाकी संस्थापक भगवती चौधरीका छोरा हुन् । नेकपा (एमाले)की सांसद भगवती यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन् । द्रव्यराज र बालकृष्ण साथी हुन् । उनीहरुमाथि विराटनगर–११ का ४७ वर्षीय कान्ता कामत, उनका छोरा २८ वर्षीय पंकज कामत, ३२ वर्षीय रोनाल कँडेल, २७ वर्षीय कालु भनिने रिकेश श्रेष्ठ र २१ वर्षीय प्रशान्त पौडेलले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आक्रमणमा संलग्न रोनाललगायतका युवा अपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन् । गुण्डागर्दीको राज चलाउन खोज्ने रोनालको समूहले पछिल्लो समय विराटनगरमा आतंक मच्चाइरहेको छ । सत्तारुढ नेपाली कांग्रेसका नेताको संरक्षणमा सर्वसाधारणलाई धम्क्याउने, थर्काउने र आक्रमण गर्ने गरिरहेको हो । कुनै पनि घटनामा संलग्न भएर प्रहरीले कारबाही अघि बढाउन खोज्दा कांग्रेस नेताहरु बाधक बनिदिने गरेको स्रोतको भनाइ छ ।

राजनीतिक छत्रछायामा अपराधिक धन्दा चलाइरहेको यो समूहमाथि प्रभावकारी ढंगबाट कारबाही भएको छैन । पूर्वमन्त्रीका छोरा र उनका साथीमाथि भएको आक्रमणमा पनि कारबाही नगर्न कांग्रेसका नेताले दबाब दिइरहेको स्रोतले बतायो । विशुद्ध अपराधिक यो घटनालाई सत्तारुढ कांग्रेस र एमालेले राजनीतिकरण गर्न खोजिरहेको प्रहरीका एक अधिकृत बताउँछन् । एमालेले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरिरहँदा कांग्रेसले कारबाही नगर्न प्रहरीलाई दबाब दिइरहेको हो । एउटा अपराधिक घटनालाई राजनीतिक रंग भरेर तथ्य मोड्दै आक्रमणमा संलग्न गुन्डा समूहलाई उन्मुक्ति दिने खेल भइरहेको छ । सत्तारुढ दलको दोहोरो दबाबका कारण प्रहरी भने अन्योलमा परेको छ ।

राजनीतिक संरक्षणकै कारण गुण्डागर्दीमा संलग्नको मनोबल बढेको छ । गुन्डा समूहले विभिन्न अपराधिक घटना गराइरहँदा पनि राजनीतिक दबाबमा सामसुम पार्ने गरिएको छ । जसका कारण दिनदहाडै व्यक्तिमाथि आक्रमण गर्ने र कानुन हातमा लिने समूह सक्रिय हुन थालेको छ । रोनालको समूहले फड्का र सट्टेबाजीको धन्दा पनि चलाइरहेको सूचना प्रहरीलाई छ । द्रव्यराजले घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् ।

आक्रमणमा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा जाहेरी परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । काले भनिने रिकेश श्रेष्ठ पक्राउ परेका छन् । अरु फरार रहेकाले खोजी जारी राखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । ‘घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको छ । १ जना पक्राउ परेका छन् ।

फरार रहेकाले अरुको खोजी भइरहेको छ,’ उनले भने । आक्रमणबाट द्रव्यराजको आँखा, अनुहारलगायतमा चोट लागेको छ । बालकृष्णको टाउको, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । विराटनगरकै कोशी अस्पतालमा उपचार गराएको द्रव्यराजले बताए । उनका अनुसार एउटा समूहले चारैतिरबाट घेरा हालेर हेल्मेट, इँटालगायतले आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर