AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको ऐतिहासिक राधाकृष्णको ५६ औ रथयात्राको रौनक(फोटोसहित)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०८१, मंगलवार १९:०६
333
Shares
तस्वीर :पुष्पराज थपलिया
विराटनगर / विराटनगरको ऐतिहासिक राधाकृष्णको ५६ औ रथयात्रा जारी छ । विराटनगर – १ राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुजाअर्चना गरेपछि आज चार बजे राधाकृष्णको रथयात्राको निस्किएको हो ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

रथयात्राभन्दा पहिले खटयात्रा निकालिएको थियो । खटको ९३ औं र रथको ५६ औं संस्करण हो । रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

विगतभन्दा फरक र अझ भव्य रुपमा रथयात्रा निकालेको आयोजकले जनाएको छ । भक्तजनहरुलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपासहित मोरङका विभिन्न स्थान र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा (डोरी) रहने छन् । ती डोरी तान्न भक्तजनहरुको तछाडमछाड हुने गरेको छ ।

रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिन र सुरक्षाका लागि ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गर्ने तयारी छ । श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण रथयात्राले गराउने बताइन्छ ।

रथयात्रामा यस पटक ५ लाख बढी भक्तजनको सहभागिता हुने अपेक्षा गरेको श्रीराधाकृष्ण राथयात्रा समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । विराटनगरको रथयात्रा भारतको जगनाथपुरीको रथयात्रापछिको दोस्रो ठूलो भएको उनले दावी गरे । भगवान राधाकृष्ण सवार रथयात्राको दर्शन गरेमा वा रथको डोरी छोएमा मात्रै पनि मनोकांक्षा पूरा हुने विश्वास रहेको उनको भनाइ छ ।

रथयात्रामा सुरक्षा योजनाका साथ ठूलो संख्यामा पोसाक र सादा पोसाकमा प्रहरी परिचालित गरिने मोरङ प्रहरीले जनाएको छ । भीडभाडमा चोरी, लुटपाट, पकेटमारजस्ता कार्य हुन नदिनका निम्ति सादा पोसाकमा पनि ठूलो संख्या प्रहरी परिचालन हुनेछन् ।

भीडभाडमा आउँदा बहुमूल्य गरगहना नलगाउन, बहुमूल्य वस्तु नल्याउन र स्वयं आफू पनि सचेत, चनाखो हुन प्रहरीले आग्रह गरेको छ । तीन वटै सुरक्षा निकायले रथयात्रालाई सुरक्षित र भयरहित बनाउन काम गर्ने मोरङ प्रहरीका उपरीक्षक नवराज कार्कीले बताएका छन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर