खबर पूर्वाञ्चल
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज विराटनगर आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारबाला लगायतको सहभकागितामा डेंगी नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विस २०८१ वैशाखदेखि हालसम्म ५८२ जनामा सङ्क्रमण भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशमा साउन महिनामा मात्रै ३३४ जनामा डेंगी संङ्क्रमण देखिएका छन् ।
प्रदेशमा मोरङ जिल्लामा सङ्क्रमण उच्च रहेकाले सचेतनामुलक कार्यक्रम गर्न प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले सरकार जनताको स्वास्थ्यप्रति प्रति गम्भिर रहेको बताए । उनले डेंगी सङ्क्रमण नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।
मन्त्री अधिकारीले भने, ‘डेंगी सङ्क्रमण नियन्त्रणका लागि हातेमालो गर्न सरकार तयार रहेको छ’ । मोरङको लेटाङ नगरपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या हालसम्म ३१० रहेको उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिइन् । उनले सात सय बढीको परीक्षण गर्दा बैशाख देखि हालसम्म ३१० जनामा सङ्क्रमण देखिएको र पालिकाले खोज र नष्ट अभियान सञ्चालन गरिरहेको बताइन् ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले डेंगी सङ्क्रमण नियन्त्रणका लागि समन्वय गर्न आफुहरु तयार रहेको बताए । कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले डेंगी सङ्क्रमण नियन्त्रणका लागि अभियानहरु सञ्चालन गरिरहेको जानकारी दिएका थिए । स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले जनता लक्षित कार्यक्रममा तीनै तहको सरकारवीच समन्वय आवश्यक रहेकोमा जोड दिइन् ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले डेंगीको कुनै औषधि नभएको बताउँदै दुखाई तथा लक्षणहरुको व्यवस्थापन गर्ने गरिन्छ र यसका लागि खासगरि पारासिटामोल औषधि दिईने गरेको जानकारी दिए । उनले भने,‘ आईब्रुफीन, फ्लेक्सन र एस्पिरिन जस्ता औषधिहरु प्रयोग गर्नु हुँदैन ।’
विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक दिलिप यादवले महानगरले वडास्तरमा खोज र नष्ट गर अभियान तथा अभिमुखीकरण सञ्चालन गरिएको जानकारी दिए ।
प्रदेशमा साउन १ देखि २९ गते सम्ममा मात्रै ३३४ जनामा डेंगी सङक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उक्त अवधिमा मोरङमा १९९, झापामा ३३, धनकुटामा ३२, संखुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुई जनामा सङ्क्रमण भएको बस्नेतले बताए ।