animated ellipse animated ellipse

कोशी प्रदेशमा तीन वर्षमा २६ हजार १७३ मुद्दा दर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ श्रावण २०८१, मंगलवार १९:०२
144
Shares
विराटनगर / कोशी प्रदेशमा अपराधका घटना वर्षेनी बढने गरेको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले १४ जिल्लाकोे अपराध तथ्यांक हेर्दा प्रत्येक वर्ष अपराधका श्रृङखला बढ्दो अवस्थामा देखिएको हो ।

कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, सामाजिक अपराध, आत्महत्या, लागूऔषध, बैंकिङ कसुर, चोरी तथा डाँका, जवरजस्ति करणी, ठगी, जवरजस्ति करणी उद्योग, किर्ते सम्बन्धी, साईबर अपराध र मानव बेचबिखन गरी प्रहरीमा तीन वर्षमा २६ हजार ३७१ वटा मुद्दा दर्ता भएको छ । तीन वर्षमा दर्ता भएको मध्ये आत्महत्याको अवस्था डरलाग्दो रहेको छ । प्रत्येक वर्ष आत्महत्याको घटना बढेको देखिन्छ ।

कोशी प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ६२ वटा मुद्दा दर्ता भएको छ । २०७९ ÷०८० मा ८ हजार ७२४, आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ३८७ वटा मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए ।

दर्ता भएको मध्ये तीन वर्षमा सबैभन्दा बढी आत्महत्या रहेको छ । तीन वर्षमा ४ हजार ५ सय ८४ वटा आत्महत्याको घटना प्रहरीमा दर्ता भएको अभिलेखमा देखिन्छ । आत्महत्या आर्थिक वर्ष २०७८ ÷०७९ मा १ हाजर ४८२ वटा दर्ता भएको छ । आर्थिक वर्ष २०७९/०८० मा बढेर १ हजार ५४८ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरीले जनाएको छ । ०८०/०८१ मा ६ वटा मुद्दा बढेर १ हजार ५५४ वटा आत्महत्याको मुद्दा दर्ता भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।

त्यसैगरी तीन वर्षमा सामाजिक अपराध ४ हजार ५९१ वटा दर्ता भएको छ । त्यस्तै लागूऔषध २ हजार ६०८, बैंकिङ कसुरमा २ हजार ९९, चोरी डाँका मुद्दा २ हजार १६०, जवरजस्ती करणी मुद्दामा १ हजार ५ सय ९१ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरी कर्तब्य ज्यान मुद्दामा तीन वर्षमा ३ सय ३२ वटा दर्ता भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी चन्द्रकुवेर खापुङले बढ्दो आपराधिक घटनाबारे भन्छन्, ‘बढ्दो जनसंख्यासँगै अपराध पनि बढेको छ । मानिसहरुका महत्वकांक्षा बढ्दै जान्छन्, सहजै पैसा कमाउने झोँक चल्छ, अनि विभिन्न खालका आपराधिक बाटो समाएर अघि बढ्नेहरुका कारण घटनाहरु बढेका हुन् ।’

उनले भने, ‘सुरुमा प्रहरी भनेर डराउने नागरिक अहिले प्रहरीलाई साथी सम्झने गरेका छन्, जसका कारण समाजमा केही भयो की प्रहरीलाई सम्झने हो, त्यसैले उजुरी पनि बढेका छन्, अनुसन्धान पनि त्यही अनुसारले हुँदैछ, प्रहरीप्रति विश्वास भएकै कारण नागरिकले हरेक काम प्रहरीले गरिदिए हुन्थ्यो भन्ने ठान्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर