विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको वृहत विकास गरिने बताएका छन् ।
वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले २०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई आज विराटनगरमा सम्मान एवं प्रमाणपत्र वितरण गर्दै उनले सरकारको यस वर्षको नीति तथा कार्यक्रममा यस क्षेत्रको विकासका लागि अध्ययन गर्ने,आधारहरु तयार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।
कुम्भ भेला राष्ट्रिय भावना, धार्मिक , संस्कृति, पर्यटन एव राष्ट्रिय पूँजीको विकासको गर्ने महत्वपूर्ण मेलाको रुपमा रहेको चर्चा गर्दै यस क्षेत्रमा विकासका लागि तीन तहको सरकारले अपनत्व लिएर कार्य गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए ।
मुख्यमन्त्री कार्कीले मुलुकको मुख्य पर्यटन क्षेत्र भनेको धार्मिक पर्यटन हो भन्दै सङ्घीय सरकारले यस क्षेत्रको विकासका लागि गुरु योजना ल्याउनु आवश्यक भएको बताए । उनले धार्मिक पर्यटकीय क्षेत्रको विकासबाट दुई छिमेकी मुलुक भारत र चीनबाट एक दशकभित्र एक करोड भन्दा वढी पर्यटक भित्रिने दावी गरे ।
मुख्यमन्त्री कार्की प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ को रुपमा मनाउन लागेको निर्णय गरेको जानकारी गराउँदै आउँदो असोज महिनासम्म सुनसरीको धरानदेखि बराहक्षेत्रसम्मको बाटो कालोपत्रे गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको बताए ।