खबर पूर्वाञ्चल
मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा मोरङ जिल्लाको अर्धवार्षीक समिक्षा कार्यक्रममा ८० वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको जानकारी दिईएको छ । समीक्षा कार्यक्रममा मोरङ जिल्लामा ६ महिनाको अवधिमा इन्सेकले ८० वटा घटनामा ९७ जना पीडित भएको घटना अभिलेख गरेको जानकारी दिइएको छ । जसमा बालिका बलात्कार, यौन दुव्र्यवहार, हत्या, बोक्सी आरोप, घरेलु हिंसा लगायतका घटना भएका छन् ।
मोरङमा विगत ६ महिनाको अवधिमा भएका घटनाका विषयमा सहभागिहरूले विभिन्न सुझाव दिएका छनन् । कार्यक्रममा जिसस मोरङकी उपप्रमुख उषा झाले मानवअधिकारको दृष्टिकोणलाई फराकिलो पार्न आबश्यक भएको बताइन् । उनले वातावरण प्रदुषण, विकास निर्माणमा ढिलाई हुँदा स्थानियले धेरै दुःख पाइरहेको बताइन् । झाले विकास निर्माणकाम समयमै नहुने खाल्डा खनेर त्यसै छाडिने गरिएका कारण बालबालिका त्यस्ता खाल्डामा डुवेर मृत्यु हुने गरेको बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोगका कोशी प्रदेश कार्यालय प्रमुख पवन भट्टले संविधानमा उल्लेख भएका मौलिक अधिकारसमेत कार्यान्वयन हुन नसकेको बताए । उनले मानवअधिकारलाई परम्परागत रुपमा मात्रै नहेरी विकास निर्माण, प्रविधिको प्रयोग, जलवायु प्रदुषणलगायतक विषयले नयाँ इस्युहरू पनि देखिएकाले वदलिंदो परिस्थिति अनुसार मानवअधिकारवादी संस्थाहरूको दृष्टिकोण पनि परिवर्तन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोकनकी प्रदेश प्रमुख मञ्जीता उपाध्याय, गैसस महासंघ मोरङकी अध्यक्ष विष्णुशर्मा, माइती नेपालका मोरङ प्रमुख विनोद पोखरेललगायतलले मानवअधिकारका घटनाको इन्सेकले सुक्ष्म निगरानी गरिरहे पनि थप घटनाहरू समेट्नेतर्फ ध्यान दिन सुझाव दिए । इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापाले इन्सेकले हरेक वर्ष मानवअधिकार उलंघन तथा ज्यादतीका घटना समेटर मानवअधिकार बर्ष पुस्तक प्रकाशन गर्दै आएको जानकारी दिए ।