खबर पूर्वाञ्चल
विराटनगरमा सीता बाल मुकुन्द पोखरेल प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले एक महिनाको अवधिमा विगत ७ महिनामा हुन नसकेको नीतिगत कामहरु गरेको दावी गरे । उनले भने, ‘हामीले एक महिनामा नीति तथा कार्यक्रमर बजेट मात्रै बनाएका छैनौं । लामो समयदेखि नभइरहेका योजनाका कामहरु पनि दु्रत गतिमा अगाडि बढाएका छौं ।’ एक वर्षमा तीन पटक सरकारको मुद्दा लडेर त्यसमा निरन्तर जितका कारण पनि काम गर्ने उत्साह पैदा भएको उनले बताए । सरकारमा केही गरौं भन्ने अठोटसहित काममा लागिपरेको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले समाजमा म को हुँ, मेरो दायित्व के हो र मैले कसका लागि काम गर्न खोज्दैछु भन्ने कुरा चिनेर काम गर्न सक्नुपर्ने बताए । उनले भने, ‘हामीले सामाजिक काममा लाग्दा म को हुँ किन काम गर्ने भन्ने चिन्न नसक्दा समस्या सृजना भएका छन् ।’ कठिन परिस्थतिमा पनि समाजसेवामा समर्पित सीता पोखरेलको जीवनका संघर्ष र सेवा प्रेरणादायी रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले सीता पोखरेल र बालमुकुन्द पोखरेलको नाममा प्रतिष्ठान स्थापना गरेर समाजमा उहाँहरुको योगदानलाई स्थापित गर्ने प्रत्यन गर्नु उदाहरणीय काम भएको बताए ।
कार्यक्रममा साहित्यकार कुन्ता शर्मा र श्याम अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने बैंकर कमल बस्नेतलाई पनि सम्मान गरिएको थियो ।