खबर पूर्वाञ्चल
कलेजमा आज आयोजित सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीखास मुद्दाहरुको चर्चा गरेको बताइन् । उनले नेपाल पनि जलवायुको परिवर्तनको चपेटामा परेको र हिजो–आजको जस्तो गर्मी तथा यस्ता धेरै असन्तुलनहरुका साथै जोखिमहरु सहनुपरेको बताइन् । सह–प्राज्ञ डा.भगतले सानो प्रयास सबैले गरेमा जलवायुमा नियमितता ल्याउन सकिने भएको हुँदा शिक्षादीप कलेजको यो प्रयासको प्रसंशा समेत गरिन् ।
कलेजमा जीव विज्ञान मूल विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुले वातावरण प्रदूषण र जलवायु परिवर्तनका सवालहरु खोजी गरेर त्यसका कारण,असर र समाधानका उपायसमेत उल्लेख गरी समूहगत रुपमा प्रस्तुती गरेका थिए । आठ वटा समूहका ३५ जना प्रस्तोताले फरक विषयहरुमा खोज अनुसन्धान गरी करिव २ सय ५० जना सहभागीहरुकावीचमा प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनीहरुले मिचाहा प्रजातिका जीवहरुले नेपालको इकोसिष्टम र जनजीवनमा पारेको प्रभाव, विश्वव्यापी तापमान वृद्धि, अम्लीय वर्षा, छिटो परिवर्तन भइरहने फेशन तथा खेर जाने खानेकुरालाई वातावरणीय समस्याको रुपमा व्याख्या गरेर जानकारी दिएका थिए । साथै प्लाष्टिक प्रदुषण, ओजोन तह विनाश, जैविक विविधताको क्षयीकरणजस्ता विषयवस्तुसँग सम्बन्धित तथ्यहरु समेटेका थिए ।
कलेजमा आयोजित सो सम्मेलनमा बोल्दै प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीले किताबी ज्ञानमा मात्र सीमित नभई खोज अनुसन्धान गर्न सक्ने भएको दाबी गरे । उनले भने–हामीले विद्यार्थीलाई उनीहरुको चाहना र मनोविज्ञान अनुसार अनुसन्धान तथा आविष्कार गर्ने वातावरण निर्माण गरेका छौँ । हामी विश्वास गर्छौ आज हामीले यहाँ गरेको यो सानो प्रयासले सिंगो पृथ्वीको वातावरण संरक्षणमा ठूलो योगदान दिएको पुष्टि हुनेछ । यी विद्यार्थीको दिमागमा वातावरण संरक्षण गनुपर्छ भन्ने सन्देश घुसाउन सक्दा मात्र भविष्यको वातावरण स्वच्छ हुने हो, तसर्थ हामीले यो प्रयास गरेका हौँ उनले भने । प्रिन्सिपल खड्काले शिक्षादीपले यस्ता अतिरिक्त क्रियाकलाप एक सालमा एक दर्जनभन्दा बढी आयोजना गर्दै आएको पनि जनाए ।
‘स्मल एक्ट, विग इम्प्याक्ट’ मूल नाराका साथ आयोजित सो सम्मेलनमा वनस्पति विज्ञहरु डा.ललितनारायण मण्डर, एलिजा आचार्यलगायतले मन्तव्य राखे । कलेजका अध्यक्ष तथा कोशी प्रदेश सभाका संसद भीम पराजुली, सह–प्राध्यापक शैलेन्द्र शिवाकोटी, कलेजका मुख्य निर्देशक रमेशकुमार मण्डल, संयोजकहरु नवीनकुमार राय र शंकर भट्टराई र कलेजका निर्देशक भुपेन्द्र दाहाललगायतकोे उपस्थिति रहेको थियो ।
शिक्षादीप कलेजले गतवर्षदेखि जलवायु सम्मेलन आयोजना गर्दै आइरहेको र यसलाई निरन्तरता दिँदै लगिने सम्मेलनका कन्भेनर रामचन्द्र अधिकारीले जानकारी दिए ।