खबर पूर्वाञ्चल
विराटनगर वडा नम्बर १ को आर्थिक सहयोगमा सो वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष काजीबहादुर बस्नेतले तीर्थयात्रामा जाने ज्येष्ठ नागरिकहरूलाई विदाई गरे । उनीहरूले खादा लगाएर सफल यात्राको समेत कामना गरे । वडाले ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चको संयोजनमा तीर्थयात्रामा लगेको वडाध्यक्ष बस्नेतले बताए । वडाले हरेक वर्ष ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लाने गरेको उनले जानकारी दिए । मौलाकाली, स्वर्गद्वारी, रिडी, लुम्बिनीलगायत विभिन्न धार्मिकस्थलको भ्रमणपछि ज्येष्ठ नागरिकको टोली एकहप्तामा विराटनगर फर्किने मञ्चका सचिव ईश्वर खतिवडाले जानकारी दिए ।
महानगरले तीर्थयात्रामा लगेकोमा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् । भ्रमणमा सहभागी ज्येष्ठ नागरिक टीकाप्रसाद निरौलाले महानगरले अत्यन्तै राम्रो काम गरेको बताए । महानगर र वडा समितिको जति नै प्रशंसा गरे पनि कमी हुने निरौलाको भनाइ थियो । स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित ५५ जनाको टोली भ्रमणमा गएको वडाध्यक्ष बस्नेतले बताए । उनका अनुसार वडाको २ लाख रुपैयाँ बजेटबाट ज्येष्ठ नागरिकलाई भ्रमणमा लगेको हो ।
तपाईको प्रतिक्रिया