खबर पूर्वाञ्चल
विराटनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महानगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उपमेयर कार्कीले उद्यमशीलताकालागि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिँदै बिउ पूँजी उपलब्ध गराउने बताइन् । उनले आफु पनि एक उद्यमी भएकाले महिलाहरु उद्यमशीलतामा लाग्दा कुनै समस्या आए वा आफ्नो आवश्यकता परे जुनसुकै बेला आफूलाई भेट्न आग्रहसमेत गरिन् ।
नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सुदीप घिमिरेले एनवाईईएफ विराटनगर च्याप्टरले गरिरहेको कामको प्रशंसा गर्दै उद्यमशीलतामा अग्रसर बनाउने अझ राम्रा काम गर्न सुझाव दिए। उनले युवाहरुलाई उद्यमशीलतामा आउन आह्वान पनि गरे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले आफु प्रहरी सेवामा रहेपनि सुरुवाती दिनमा उद्यमशीलतामा अग्रसर भएको अनुभव सुनाइन्। उनले उद्यमशील बन्नकालागि पढाईले मात्र नहुने भन्दै व्यवहारिक ज्ञानसमेत लिनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा महिला उद्यमीद्धय रक्तिम जोशी प्याकुरेल र अमिना तिम्सिना बस्नेतले उद्यमशीलताको यात्रामा आफुले भोगेका देखेका अनुभव सुनाएका थिए । यस्तै राधाको बर्न सर्भाइवर्सकी संस्थापक एवम् समाजसेवी राधालक्ष्मी श्रेष्ठले उद्यमशीलताकालागि कसरी अगाडि बढ्ने साथै सामाजिक क्षेत्रमा संलग्नताका विषयमा आफ्नो अनुभव प्रस्तुत गरिन्।
कार्यक्रममा महिला उद्यमशीलताका क्षेत्रमा रहेर विभिन्न तह र तप्काका महिलाहरुसँग छलफल गरिएको थियो । प्यानल छलफललाई एनवाईईएफ विराटनगरकी सदस्य सुनिता राउतले सहजीकरण गरिन्। छलफलमा उद्यमी बन्न चाहने महिला युवा एवम् विभिन्न कलेजबाट उल्लेख्य मात्रामा छात्राहरुको उपस्थिति रहेको एनवाईईएफ विराटनगर च्याप्टरका लर्निङ चेयर सागरराज ढुंगानाले जानकारी दिए । छलफलमा सफल उद्यमी बन्नकालागि आवश्यक विषयमा अनुभव आदानप्रदान भएको थियो ।
महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक एनवाईईएफ विराटनगर च्याप्टर अध्यक्ष सञ्जीव सिग्देलले बताए। उनले युवाहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रहेर पनि धेरै कुरा गर्न सकिन्छ भन्ने सन्देश दिन यसखाले कार्यक्रम गरेको बताए।