RUMPUM
animated ellipse animated ellipse

कोशीका मुख्यमन्त्री कार्की सहित मन्त्रीहरुले सार्वजनिक गरे सम्पति विवरण, मुख्यमन्त्रीसँगै करोडौं पर्ने जग्गा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०८०, बुधबार १८:०३
2.17k
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित चारजना मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्रीमा नियुक्ति भएको एक सय दिन पुग्नै लाग्दा मुख्यमन्त्री कार्कीले आफूसहित मन्त्रीहरु शम्शेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले सम्पत्ति सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरेको विवरण अनुसार मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा एक कठ्ठा १२ धूर जग्गा छ भने बुढीगंगा र विराटनगरमा गरेर ७ ओटा घडेरी छन् । उक्त जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ ।

यस्तै उनको परिवारमा २५ तोला सुन र चाँदी ८० तोला रहेको उल्लेख छ । साथै श्रीमती शान्तादेवी बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । सो रकम तलब भत्ता, बचत र व्याजबाट आम्दानी गरेको उल्लेख छ ।

यस्तै विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा एक लाख ८७ हजारको रहेको छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको उल्लेख छ । यस्तै १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । यस्तै उनको श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्रै रहेको उल्लेख गरेका छन् ।

यस्तै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईको इलामको रोङ गाउँपालिकाको ६ र ४ नम्बर वटामा पाँच ठाउँमा जग्गा रहेको उल्लेख छ । उनको विवरणमा १० तोला सुन रहेको उल्लेख छ । बैंक मोज्जात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा एक लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको उल्लेख छ । उनको यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा फर्म २०७० सालमा दर्ता गरी संचालन गरिरहेको उल्लेख छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको पाँचथर फालेलुङ –१, फालुलुङ–२, झापाको दुवागडी मेचिनगर– ५, मा ६ कित्ता जग्गा रहेको उल्लेख छ । उनले साढे ११ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनको एक लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको उल्लेख छ । उनले हातेमालो सहकारीबाट चार लाख ऋण लिएको र आफ्नो साथमा दुहुना गाई एउटा, एक हल गोरु र खसी एउटा रहेको उल्लेख गरेका छन् ।

यस्तै वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीको भने श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा एक कठ्ठा ५ धूर तथा सुनसरीको इटहरी १० मा ११ धूर जग्गा रहेको उल्लेख छ । १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ ।

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा एक हजार ४ सय ५० कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । उनको एउटा होण्डा मोटरसाइकल र सुजुकी ब्राण्डको स्कुटर रहेको विवरणमा उल्लेख छ । यस्तै उनले सामूहिक रुपमा कृषि फारम तथा गाई फारम संचालन गरिरहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर