खबर पूर्वाञ्चल
माइती नेपाल मोरङले महानगरपालिकामा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारी समस्या, देखासिकीलगायतका कारणले बालबालिका र महिला बेचबिखनमा पर्ने गरेको सुनाए । उनले विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिए बेचबिखनलाई न्यूनीकरण गर्न सकिने उल्लेख गरे । “हप्ताको एकदिन सबै विद्यालय र कलेजमा बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्न सके जुन अहिले देखिँदै आएको समस्या न्यूनीकरण गर्न सकिन्छ,” उनले भने, “त्यसका लागि प्याब्सन, एन–प्याब्सन, हिसानलगायत जति पनि संघसंस्थाहरु छन् उनीहरुसित चाँडै नै छलफल गरेर अभियान सञ्चालन गर्नुपर्छ ।” उनले माइती नेपालसित महानगरपालिका सहकार्य गरेर कार्य गर्न तत्पर रहेको समेत सुनाए ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण बालबालिका र महिलाको बेचबिखन बढ्दै गएको बताइन् । मानव बेचबिखनको जोखिममा बढी बालबालिका भएका कारण अभिभावकहरु पनि चनाखो हुनु जरुरी रहेको कार्कीको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए । सो अवसरमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान मोरङ प्रमुख तिलक प्रसाईं, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तलगायतले बेरोजगारी समस्या र देखासिकीले बालबालिका र महिलाहरु चाँडै गलत व्यक्तिहरुको प्रलोभनमा पर्ने गरेको बताए ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले विराटनगरस्थित रानी नाकाबाट १७४ जना बालबालिका र महिलाको उद्धार गरेको बताए । उनले गत वर्षको मार्चदेखि २०२४ को फ्रेबुअरीसम्म माइती नेपालले ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरेको जानकारी दिए । पोखरेलले एक वर्षको अवधिमा १८ वर्षभन्दा मुनि उमेर समूहका ४२ र १८ वर्षभन्दा माथिका १३२ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिए । उनीहरु रोजगारी र साथी भेट्न जान लागेको बहानामा रानी सीमा नाका पुगेका थिए । उद्धार गरिएका मध्ये मोरङका ५४ जना रहेको पोखरेलले बताए । त्यसमध्ये विराटनगथर महानगरपालिकाभित्रका ११ जना बालिकाको उद्धार गरिएको उनँको भनाइ थियो ।
माइती नेपालकी मनोपरामर्शदाता गीताञ्जली शर्माले सामाजिक सञ्जालको प्रयोगमार्फत दलालहरुले बालबालिका र महिलासम्म पहुँच विस्तार गर्ने गरेको सुनाइन् । दलालहरुले राम्रो जागिर दिने प्रलोभन देखाएर बालबालिका र महिलालाई भारत पु¥याउने गरेको उनको भनाइ थियो ।