खबर पूर्वाञ्चल
विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरेको हो । त्यस्तै विद्यायले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित चापागाईं, प्रवेश दुलालसहित विभिन्न संकायका संयोजकहरुलाई पनि सम्मान गरेको छ । सफाई कर्मचारी रिंकी मरिक र अम्विका कुमारीलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । त्यस्तै विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको शैक्षिक विकासमा आदर्श माविको योगदान महत्वपूर्ण रहेको बताए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टलगायत विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका व्यक्तिहरुले अध्ययन गरेकाले पनि आदर्श विद्यालयको गरिमा उच्च रहेको मेयर कोइरालाले बताए ।
आदर्श माविले प्राविधिक शिक्षालाई प्राथमिकता राखेकोमा खुसी व्यक्त गर्दै उनले अन्य सामुदायिक विद्यालयले पनि प्राविधिक शिक्षालाई जोड दिनुपर्ने धारणा राखे । प्राविधिक शिक्षा बिना अब रोजगारी पाउने अवस्था नरहेको उनको भनाइ थियो । विद्यालयस्तरदेखि नै स्वरोजगारमूलक र व्यवहारिक शिक्षा दिनु जरुरी रहेको मेयर कोइरालाले बताए । “विद्यालय तहदेखि नै प्राविधिक, सीपमुलक र व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश विदेशमा श्रममा बिक्न सक्छन्,” उनले भने, “हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेका छन् । त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन् ।”
विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले विद्यालयलमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त १८ र २४ महिने कम्प्युटर तालिमलगायत विभिन्न प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गरिरहेको जानकारी दिए । उनले २०८० सालमा सामुदायिक विद्यालयतर्फ प्राविधिक शिक्षामा नेपालभरिमै सर्वोत्कृष्ट भएर पुरस्कार प्राप्त गरेको उल्लेख गरे । आदर्श माविले समावेशी शिक्षालाई पनि समावेश गरेको पोखरेलले बताए । पिताजी कृष्णप्रसाद कोइरालाले वि.सं. १९८६ मा स्थापना गरेका विद्यालयमा हाल ३ हजार ४७४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
तपाईको प्रतिक्रिया