AArya
animated ellipse animated ellipse

पहिचानवादीलाई डा.कोइरालाले भने म तपाईहरुकै पक्षमा छु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०८०, आईतवार १८:२५
135
Shares
विराटनगर । पहिचनाको विरुद्ध अभिव्यक्ति दिँदै आएका नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको बोली पछिल्लो समयमा फेरिएको छ । यसअघि पहिचानको आन्दोलनबारे अनुदार अभिव्यक्ति दिँदै कोइरालाले आज पहिचानवादीलाई भेट गरि ‘म तपाईहरुकै पक्षमा छु’ भनेका छन् ।

गत माघ २ गते पनि मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले आफू पहिचानको पक्षमा भएको अभिव्यक्ति दिएका थिए । ‘पहिचानको लडाइ अहिले पनि चलिरहेको छ । त्यो पहिचानको लडाइँमा नेपाली काँग्रेस तपाईँहरूको पक्षमा छ भन्ने कुरा बुझ्नुप¥यो’ उनले त्यसबेला भनेका थिए, ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं । द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने संघीयताको मोडल आवश्यक छ ।’

आफ्ना विश्वास पात्र केदार कार्की मुख्यमन्त्री रहेको कोशी प्रदेश सरकारले आन्दोलनकारीसँग वार्ता गर्न टोली बनाएको भोलिपल्ट कोइरालाले आन्दोलनकारी नेताहरूसँग छलफल गरेका हुन् ।

‘उहाँ (शेखर) आफैँले हामीलाई निवासमा आउन निम्ता दिनुभयो’, छलफलमा सहभागी आन्दोलनकारीका नेता अर्जुन जम्नेली राईले भने, ‘उहाँले दुई घन्टाभन्दा बढी समय हामीसँग छलफल गर्नुभयो। हाम्रा कुरा सुन्नुभयो। उहाँले आफ्ना कुरा पनि राख्नुभयो।’

कोशीका मुख्यमन्त्री कार्कीले कांग्रेसको प्रतिनिधित्व नगराई आन्दोलनकारीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेका थिए ।

शनिबार गठित समितिले वार्ताको तयारी थालेको संयोजकसमेत रहेका मन्त्री कमल जवेगुले जानकारी दिएका छन् । मुख्यमन्त्रीले वार्ता टोली गठन गरेलगत्तै कोइरालाले आन्दोलनकारी नेताहरुलाई घरैमा बोलाएर उनीहरुसँग छलफल गरेका हुन् ।

‘हामीले हाम्रो प्रदेशमा भइरहेको आन्दोलनबारे उहाँलाई जानकारी गरायौं, पुनः नामांकनका लागि सहयोग गरिदिन आग्रह गर्यौं’, कोइरालासँग छलफल सकेर बाहिरिएका नेता डकेन्द्रसिंह थेगिमले भने, ‘उहाँलाई हामीले सकारात्मक पायौं।’

थेगिम तथा अर्का नेता कुमार लिङ्देनका अनुसार नेता कोइरालाले प्रदेशको नाम कोशी जबरजस्ती राखिएको र त्यसबारे आफू जानकार रहेको बताएको जानकारी दिए।

‘तपाइँहरुको माग एकदमै जायज छ, संसारका धेरै संघीयतामा पहिचानका आधारमा नामकरणहरु भएका छन्’, कोइरालालाई उधृत गर्दै नेता थेगिमले भने, ‘मैले त बरु पहिचानका आधारमा नाम हुन्न भने प्रदेश १ नै रहिरहोः भनेको थिएँ मैले त । तर यहाँ जबरजस्ती नामकरण गरियो र प्रदेशमा तनाव उत्पन्न भयो। पुनः नामकरणको तपाइँहरुको मागप्रति म सकारात्मक छु। आफ्नो ठाउँबाट म सहयोग गर्नेछु ।’

छलफलका क्रममा कोइरालाले भारतीय संघीयताको उदाहरण दिँदै त्यहाँका प्रदेशहरु पनि पहिचानकै आधारमा नामकरण भएको स्मरण गरेको आन्दोलनकारी नेताहरुले बताएका छन् ।

‘भारतीय संघीयतामै पनि जातीय तथा साँस्कृतिक पहिचान निश्चित गरिएको छ, भाषा तथा लिपीहरु सुरक्षित गरिएको छ’, कोइरालालाई उधृत गर्दै उनीहरुले सुनाए, ‘संघीयताको आधारभूत कुरै त्यही हो । यहाँ जबरजस्ती गरेर मिस्टेक भएको छ। यसलाई सच्याउने कुरामा मेरो भूमिका रहनेछ ।’

कोइराला निवासको बैठक कक्षबाहिर पत्रकारहरूसँग आन्दोलनकारी नेताहरुले यति सबै कुरा गरिरहँदा नेता कोइराला पनि त्यहीँ उपस्थित थिए । उनलाई पनि आजको छलफलबारे केही बोल्न आग्रह गर्दा ‘उहाँहरुले सबै कुरा भनिसक्नुभयो, कुरै त्यत्ति हो’ भन्दै बोल्न अस्वीकार गरे ।

गएको फागुन १७ मा प्रदेश सभाले प्रदेशको नाम कोशी राखेपछि नामकरणविरूद्ध आन्दोलन सुरू भएको थियो। कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने माग गरिरहेका छन्।

यसक्रममा एक जना आन्दोलनकारी पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो। चैत ५ मा विराटनगरमा घाइते भएका उनको चैत १० मा उपचारका क्रममा निधन भएको थियो। उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ। यसक्रममा सयौं घाइतेसमेत भइसकेका छन्।

त्यसयता आन्दोलनकारीले नामकरणका बेला कोशीका पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सांसद तथा एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेशमा अवरोध पुर्याउँदै आएका छन्। आफूहरुले यही अशान्तिबाट प्रदेशलाई मुक्ति दिलाउन पनि काँग्रेसले भूमिका निर्वाह गर्नुपर्ने बताएको आन्दोलनकारीहरुले बताएका छन्।

अहिले कोशी सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस कोशी प्रदेशको दोस्रो ठूलो दल हो। नामकरणका बेला कोशीका पक्षमा मतदानसमेत गरेको कांग्रेसबाट कुनै प्रतिनिधि नराखी मुख्यमन्त्रीले वार्ता समिति गठन गरे पनि त्यसले फरक नपर्ने आन्दोलनकारीको भनाइ छ।

‘हामी सधैं वार्ताका पक्षमा छौं’, उनीहरूले भने, ‘सरकारले बोलाएपछि हामी जान्छौं।’ सरकारले चाँडै पत्राचार गरेर वार्तामा बोलाउने तयारी गरेको वार्ता टोली संयोजक भौतिक पूर्वाधार मन्त्री कमल जवेगुले बताए।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा दुई चरणमा वार्ता भएयता राजनीतिक अस्थिरताका कारण प्रदेशमा वार्ता हुन सकेको थिएन। सरकारले जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने गरी समिति बनाएको छ।

आफैँले पार्टी तथा गठबन्धनमा विद्रोह गराउँदै मुख्यमन्त्री बनाएका कार्की सरकारको नेतृत्वमा पुगेपछि कोइरालाले प्रदेशका आन्दोलनकारीसँग पहिलोपटक छलफल गरेका हुन्। यसअघि शीर्ष तहका नेताहरूले आन्दोलनकारीसँग यसरी छलफल गरेका थिएनन्। नामकरणका बेला कोशीका पक्षमा मतदान गरेपछि प्रदेशमा तनाव सिर्जना भएपछि काँग्रेस प्रदेशका १४ जनै जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्ति निकालेर नाममा पुनः विचार गर्नुपर्ने बताएका थिए।

त्यस्तै कोशीका पक्षमा मतदान गरेको माओवादी केन्द्रले त्यसको केही समयपछि कोशी नाममा मतदान गर्नु भूल भएको बताएको थियो। सत्ता साझेदार एकीकृत समाजवादी र जसपाले कोशीको विपक्षमा मतदान गरेका थिए। ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसित ४७ मत छ। सैद्धान्तिक रुपमा सत्ता गठबन्धनका सबै दल पुनः नामकरणप्रति लचिलो बने पनि त्यो गणितले पुनः नामकरण सम्भव हुँदैन।

दुई तिहाइ मतका लागि प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले ९४०० तयार हुँदा मात्रै पुनः नामकरण सम्भव हुन्छ। कोशीककै पक्षमा मतदान गरेको राप्रपासँग सभामुखसुहित ६ सिट छ। यद्यपि एमाले कोशीको विकल्प खोज्नै नहुने भन्ने अडानमा दृढ छ। उसले मध्यपहाडी लोकमार्गमा चलाएको संकल्प यात्राकै क्रममा चुनाव जितेर नाम फेर्न सार्वजनिक चुनौती दिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर