animated ellipse animated ellipse

राज्यले गर्ने धेरै काम गैरसरकारी संस्थाहरुले गरिरहेका छन् : मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ असार २०८०, बिहीबार १८:५४
72
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राज्यले गर्ने धेरै कामहरु गैरसरकारी संघसंस्थाहरुले गरिरहेको बताएका छन् ।

३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य संयन्त्र नपुगेको ठाउँमा पुगेर गैरसरकारी संस्थाहरुले काम गरिरहेको उल्लेख गरे । उनले अभिभावकविहीन बालबालिकाको संरक्षणसहित असल नागरिक बनाउन एसओएसको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले पवित्र उद्देश्य राखेर काम गरिरहेका संस्थाहरुलाई तीनै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । मेयर कोइरालाले एसओएसलाई महानगरका तर्फबाट गर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको प्रस्ट पारे ।

कार्यक्रममा उनले एसओएस युवालयमा लामो समयदेखि कार्य गर्दै आएका कर्मचारी रमेशमान ब्रजाचार्य, रोशन मण्डल, गोपी कोइराला र चनकबहादुर न्यौपानेलाई सम्मान समेत गरे । त्यस्तै दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फुटबल, भलिबल, दौड, फुटसल, कबड्डी, व्याडमिन्टनलगायतका प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

नेपालमा सन् १९७२ मा स्थापित एसओएसअन्तर्गत विराटनगरस्थित युवालयको संरक्षणमा रहेका ३३७ जना पुनस्थापित भइसकेको युवालयकी प्रमुख प्रनिता बस्नेतले जानकारी दिइन् । उनका अनुसार हाल ११९ जना हाल एसओएस युवालयको संरक्षणमा छन् । कार्यक्रममा वडा नम्बर १३ अध्यक्ष सूर्यलाल यादव, युवालयकी अनुशा गिरी, अर्जुन अर्याल, एसओएस बालग्राम इटहरीका प्रमुख देवचन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर