खबर पूर्वाञ्चल
मोरङ व्यापार संघको विराटनगरमा आज भएको ६६ औँ साधारण सभाको उद्घाटन शत्रमा उद्योगी व्यवसायीहरुले यस्तो बताएका हुन् ।
उनीहरले ‘भारतसँग खुला सिमानालाई नेपालीले ‘स्ट्रेन्थ’ का रूपमा लिनु पर्ने’ भन्दै मोरङका व्यवसायीले हाकाहाकी अनधिकृत निर्यात ब्यापारलाई प्रवर्द्धन गर्नु पर्ने बताए ।
कार्यक्रमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भारतले उच्च भन्सार दर राखेको सामान नेपालले ओजिएलअन्तर्गत विना रोकटोक आयात गर्न दिनु पर्ने बताए । ‘हाम्रा लागि यो खुला सिमाना एउटा अवसर हुनसक्छ’, उनले भने, ‘खुला सिमानाका कारण भारत जाने सामानको आयात गर्दा भन्सार महसुल, मूल्य अभीबृद्धि कर (मुअकर) तिरिएको हुन्छ र व्यापारीको लाभबाट आयकर पनि सरकारले प्राप्त गर्छ । अहिले भारतमा डलरको मूल्य भारु ८२ छ । नेपालमा डलर रेमिट्यान्सबाट आउँछ। यसरी तेस्रो मुलुकका सामान ओजिएलअन्तर्गत बेरोकटोक आयात गर्न दिने हो भने हामी एक डलरलाई भारु ११० सम्ममा भजाउन सक्छौँ ।’
रिजालले नेपालका उद्योगको उत्पादन–लागत बढी हुँदा भारतका उद्योगसित समुद्रपारतर्फको निर्यातमा प्रतिस्पर्धा गर्न नसकेको बताए ।
उनले भारतीय उद्योगहरूको आर्थिक हैसियत र उत्पादन–क्षमता नेपालका उद्योगको भन्दा धेरै ठुलो भएको बताए । उनले समुद्रपारका मुलुकमा निर्यात गर्ने नेपालका उद्योगको कोलकाता बन्दरगाहसम्म गरेको ढुवानीको र पोर्ट क्लियरिङमा लागेको खर्च नेपाल सरकारले ब्यहोर्नुपर्ने आग्रह गरे ।
उनले सरकारले यी दुई खर्चमा व्यवसायीलाई सहुलियत दिए समुद्रपारतर्फको निर्यात ठुलो मात्रामा वृद्धि हुने दाबी गरे ।
उनले व्यवसाय गर्दा नाफा मात्रै नभई घाटासमेत हुने तर घाटाको ब्यालेन्स सिटलाई कर कार्यालयले मान्यता नदिने हुँदा यस नीतिलाई सच्याउनुपर्ने सुझाव दिएका छन् ।
रिजालले आलु, प्याज तथा फलफूलजस्ता दैनिक उपभोगका वस्तुमा लगाइएको मूअकर तुरुन्त खारेज गर्नुपर्ने बताए ।
उनले आलु, प्याज र फलफूलको मूअकरले सर्वसाधारणको जीविकामा ठुलो असर परेको जिकिर गरे । यसबाट अवैध आयात पनि उत्तिकै बढेको उनको ठहर छ ।
उनले घिउतेलको कच्चा पदार्थमा भन्सार महसुल १० प्रतिशत बनाइएपछि भारतबाट खाने तेलको अवैध आयात वृद्धि भएको भन्दै यसलाई साबिककै १ प्रतिशतमा ल्याउन अनुरोध गरे ।
उनले मेल्टिङमा आधारित फलामे उद्योगले उत्पादन गरेको टीएमटीमा प्रति किलो १ रुपैयाँका दरले अन्तःशुल्क लगाएका कारणले बिलेटको आयातलाई प्रोत्साहन भएको चर्चा गरे ।
तपाईको प्रतिक्रिया