खबर पूर्वाञ्चल
सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले असावधानीका कारण हरेक वर्ष बाढीपहिरोमा ठूलो जनधनको क्षति हुने गरेको बताए । “थुप्रै देशमा १८ वर्ष पुगेका नागरिकले अनिवार्य रुपमा सैनिक तालिम लिनुपर्ने व्यवस्था छ,” उनले भने, “हाम्रो देशमा पनि विपदबाट हुने जोखिम न्यूनीकरणका उपायहरु समेटेर सचेतना दिन सके केही हदसम्म क्षतिलाई कम गर्न सकिन्छ ।” विराटनगर महानगरपालिकाले पनि बाढी र डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि काम गरिरहेको जानकारी दिए । उनले महानगरले नगर प्रहरीलाई बाढी र डुबानमा परेका नागरिकको सकुशल उद्धारका लागि तालिम दिइएको बताए ।
महानगर र सशस्त्र प्रहरीबीच सहकार्य गरेर विपद न्यूनीकरणका लागि काम गर्न सकिने उनको भनाइ थियो । महानगरले डुबान समस्या कम गर्न हिउँदमै धेरैजसो नाला सफा गरिसकेको समेत उनले बताए । मेयर कोइरालाले सशस्त्र प्रहरीले विपदबाट हुने जोखिम र न्यूनीकरणसँगै राहत र उद्धारका लागि पूर्वअभ्यास गरेर प्रशंसनीय कार्य गरेको बताए । उनले बूढीखोला, केसलिया र सिंघियामा तटबन्ध नबाँधेसम्म डुबान समस्याको दीर्घकालीन समाधान नहुने जिकिर गरे ।
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले वर्षाको माौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए । उनले गाउँपालिकाले विपद व्यवस्थापनका लागि विभिन्न योजना अघि सारेको सुनाए ।
मोरङका प्रमुख जिल्ला अधिकारीले मोरङ विपदका हिसाबले उच्च जोखिममा रहेको जिल्ला भएको बताए । सशस्त्र प्रहरकिो कंगालिनी बहारा बाहिनीका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकाहरुलाई उद्धारका लागि सशस्त्र प्रहरीसित दक्ष जनशक्ति रहेको जानकारी दिए । उनले अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको बताए । निकट भविष्यमा एक सय जना गोताखोरको संख्या बनाएर हरेक प्रदेशमा १० जना राख्ने व्यवस्था मिलाउने उनको भनाइ थियो । कंगालिनी गणका प्रमुख एसपी तीर्थकुमार थापाले धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरीले विगतदेखि नै विपदका बेला राहत र उद्धारमा खटिँदै आएको बताए ।