खबर पूर्वाञ्चल
आज औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गरे ।
मेयर कोइरालाले कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया भए पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइरालाले विराटनगरमा छुट्टै छाप छाडेर गएको बताए । उनले महानगरको कर्मचारी संयन्त्रलाई कोइरालाले चलायमान बनाउनुका साथै छोटो समयमा निकै महत्वपूर्ण काम गरेको स्मरण गरे ।
उपमेयर कार्कीले पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई महानगरपालिकाले सधैं सम्झिरहने बताइन् । उनले वर्षौंदेखि हुन नसकेका कामहरु पछिल्लो ८ महिनामा भएको उल्लेख समेत गरिन् ।
कार्यपालिका सदस्यहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा कोइरालाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताए । कोइरालाले आफ्ना लागि विराटनगर घर भएको बताए । उनले विराटनगरलाई आफूले कहिल्यै बिर्सन नसक्ने प्रस्ट समेत पारे। उनलाई कार्यपालिका सदस्य र कर्मचारीहरुले खादा र अविर लगाएर विदाई गरेका थिए ।
कोइराला कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो । कोइराला ८ महिनाअघि विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका हुन् ।
यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका राजेन्द्र पराजुलीलाई आजै महानगरपालिकाले स्वागत गरेको छ । पराजुलीलाई पनि मेयर कोइराला र उपमेयर कार्कीले खादा र माला लगाएर स्वागत गरेका हुन् ।