खबर पूर्वाञ्चल
सुन्दरहैचा नगरपालिका – १२ विराटचोकमा रहेको एरीका मेडिकल हलका संचालक मनोज खत्री औषधी दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो ।
औषधी व्यवस्था विभाग विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा खत्रीले विरामीले सेवन गर्ने औषधी दुरूपयोग गरेको पाइएपछि मेडिकल हल शिलबन्दी गरी उनलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका खत्रीले एपनाडेल, ट्रामाडोलल, ओपिडोल नामक औषधी दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएपछि मेडिकल हल शिलबन्दी गरी संचालकलाई नियन्त्रणमा लिएको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी निरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए ।
प्रिगाभालिन, ट्रामाडोल नामको औषधी लागूऔषध प्रयोगकर्तालाई विक्री–वितरण गर्ने गरेको फेला परेको विभागले जनाएको छ । यी औषधी मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने फार्मेसी निरीक्षक खड्काले बताए । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । यस्तै, ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।
पक्राउ परेका खत्रीलाई औषधी ऐन२०३५ अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने औषधी व्यवस्था विभागले तयारी गरेको छ । अहिले उनलाई नियन्त्रणमा लिएर इप्रका बेलबारीमा राखेको छ ।