AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ चैत्र २०७९, बुधबार १७:०४
81
Shares
विराटनगर / विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ । मेयर नागेश कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि महानगरले तयारी तीव्र बनाएको बताए ।

मेयर कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तथ्य र तयारीका आधारमा अनुगमन गरेर आउने प्रतिवेदनअनुसार पूर्ण खोप सुनिश्चिता भएको पालिका घोषणा गर्नुपर्नेमा जोड दिए । उनले प्रशासनका तर्फबाट महानगरलाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सबै खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताए । उनले पूर्ण खोप सुनिश्चित पालिका हुनु विराटनगर महानगरका लागि विकासको एउटा सूचक भएको उल्लेख गरे । पूर्ण खोपका लागि पूर्वतयारी अन्तिम चरणमा पु¥याएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । महानगरका १९ वटै वडाका ५ वर्षमुनिका करिब ११ हजार बालबालिकाको जाँच गर्दा ७५ जना बालबालिकामात्रै खोपबाट वञ्चित भएको पाइएको थियो । उनीहरुलाई पनि खोप लगाइसकेको खोप अधिकृत अमरदीपकुमार देवले जानकारी दिए ।

पूर्ण खोप सुनिश्चित हुनका लागि ५ वर्षभन्दा मुनिका सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमले तोकेअनुसारका सबै खोप लगाएको हुनुपर्ने देवले बताए । छलफलमा महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, समितिका सदस्य सरिता घिमिरे नेपाल, मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, महानगरका सामाजिक महाशाखा प्रमुख अर्जुन थपलियालगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर