खबर पूर्वाञ्चल
१ सय ९२ रजको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रनमा सिमित भए पछि नेपाल ७ रनले विजयी भएको हो । नेपालका बलर तथा विराटनगरका दिपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् । युएईका इथान डी साल्झाले सर्वाधिक ५० रन बनाए । त्यस्तै अर्यान्श शर्मा ३२ रन बनाए ।
नेपालका लागि कँडेलले ५ विकेट लिँदा सुवास भण्डारी र हेमन्त धामीले २–२ विकेट लिए । अन्तिम तीन ओभरमा यूएईलाई जितका लागि ११ रन आवश्यक थियो । आफ्नो स्पेलको अन्तिम ओभर लिएर कँडेल बलिङका लागि आए । सुरुवाती तीन बलमा ३ रन खर्चिँदा नेपाल हारनजिक पुगिसकेको थियो । यूएईलाई जितका लागि १५ बलमा ८ रनमात्र चाहिएको थियो ।
तर, कँडेलले लगातार बलमा विकेट लिँदै आफ्नो अभूतपूर्व बलिङ स्पेल पूरा गरे । उनको यही ह्याट्रिक विकेटले नेपाललाई ८ वर्षपछि विश्वकपमा छनोट गरायो । कँडेलले अन्तिम ३ बलमा हर्षिद सेथ, हरिस सेट्टी र मनिष गजेशको विकेट लिँदै नेपाललाई ऐतिहासिक जित दिलाए ।
यूएईको जमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा ४८ दशमलव ५ बलमा १ सय ९१ रनको सामान्य योगफल बनाएको थियो ।
सन् २०१८ को संस्करणमा निर्णायक खेलमा अफगानिस्तानसँग हारेपछि चुकेको नेपाललाई त्यसयता दुई संस्करणमा सन् २०२० र २०२२० मा यूएईले नै माथ दिँदै आएको छ । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपालले यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित भएको थियो । वेष्ट इण्डिजमा सम्पन्न गत संस्करणमा सन् २०२२ को छनोट प्रतियोगिता कोरोना महामारीले प्रभावित बनेपछि पछिल्ला पाँच संस्करणको नतिजाका आधारमा भन्दै यूएईलाई नै विश्वकप खेल्न योग्य बनाइएको थियो ।
पछिल्ला दुई संस्करणको पीडा विर्सिँदै र यूएईसँग उसकै मैदानमा बदला लिँदै नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट भएको छ । यसपल्टको एसिया क्षेत्रीय छनोटमा नेपाल र यूएईसँगै मलेसिया, हङकङ, सिंगापुर र कुवेत थिए । नेपालले यसअघिका चारै खेलमा सहज जित हासिल गरेको थियो ।
कप्तान देव बाहेक उत्तम थापाले ३६ रन, विशाल विक्रम केसीले ३८ रन बनाए । यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २–२ विकेट लिए ।
सन् २००० देखि लगातार यू–१९ विश्वकप खेलेको नेपाल सन् २०१६ यता छनोट हुन संघर्षरत थियो । नेपालले सन् २००६ को संस्करणमा प्ले च्याम्पियनसिप जितेको थियो भने सन् २००४ र २००८ को संस्करणमा प्लेट च्याम्पियनसिप फाइनल खेलेको थियो ।