खबर पूर्वाञ्चल

विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो । विमानस्थल विस्तारको योजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो ।
तीन वर्ष भित्र टर्मिनल भवन निर्माण पुरा गरिसक्नुपर्नेछ । यसअघि २०२५ साल असार ९ गते विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो । ५० वर्ष पुरानो भवन विस्थापित गरेर नयाँ अत्याधुनिक टर्मिनल भवन बन्न लागेको हो ।
टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्राथना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हललगायतको अत्याधुनिक सुविधा रहने छन् ।
यसअघि १३ अर्बको गुरुयोजना निर्माण गरी विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको विमानस्थलको रुपमा विस्तारका लागि तीन तहको सरकारबीच सम्झौता भएर जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषद्को २०७७ कात्तिक २७ गतेको निर्णयले १२६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय अनुसार जिल्ला प्रशासन मोरङ र सुनसरीले जग्गाधनीहरुलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचनासमेत सार्वजनिक गरिसकेका थिए । तर अघिल्ला संघीय सरकारले मुआब्जा वितरणका लागि बजेट बिनियोजन नगरेपछि जग्गाधनीको दवावमा मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयले अघिल्लो निर्णय फिर्ता लिएका थिए ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, विराटनगर महानगर प्रमुख भीम पराजुलीलगायतको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरबीच त्रिपक्षीय सम्झौता भएको थियो । विमानस्थलको हाल रहेको एक हजार पाँच सय मिटर लम्बाईको धावनमार्गलाई तीन हजार मिटरमा बिस्तार गर्न सम्झौता गरेको थियो । विमानस्थल बिस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि संघीय सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत साझेदारी गर्ने सम्झदारी पत्रमा उल्लेख थियो ।
विराटनगर विमानस्थलबाट हाल यति एयरलायन्सको ४, बुद्ध एयरलायन्सको ७, सौर्यको २ र श्री एयरलायन्सको ३ गरी दैनिक १६ वटा उडान भइरहेको छ
पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङ स्थल बनाउने तयारी छ । विमानस्थलको टर्मिनल भवनको शिलन्यास गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीले नयाँ बन्ने टर्मिनल भवनले प्रदेश १ को विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले ठेकेदारलाई समयमा नै काम सम्पन्न गर्न निर्देशन दिए ।
‘कुनै पनि काम सुरु गर्नु ठूलो कुरा हो । त्यसो भन्दा पनि ठूलो कुरा समयमै सम्पन्न गर्नु हो । समयमै सम्पन्न गरी गुणस्तरीय काम हुनुपर्दछ,’ मन्त्री किराँतीले भने । नयाँ बन्ने सुविधा सम्पन्न टर्मिनल भवन सहज तरिकाले देश र जनताको पक्षमा गर्नुपर्ने उनले बताए ।