खबर पूर्वाञ्चल
फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । महासंघका अध्यक्ष पर्शुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरुको लागि उत्सवको रुपमा रहने बताए। उनले महाधिवेशनको उद्घाटन १० हजार भन्दा बढीको सहभागितामा आमसभाका रुपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेलक्षेत्रका अगुवालगायतका १ हजार भन्दा बढीको सहभागिता हुने जानकारी दिए।
खेल क्षेत्रलाई महत्व दिने पार्टी एमाले नै रहेको भन्दै उनले खेलकुद महासँघले खेलकुदको प्रवर्धन गर्दै खेलाडिहरुको हितका लागि नीति निर्माणमा पार्टीलाई दवाव दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताए। यसैबिच महाधिवेशनलाई भब्य र सभ्य बनाउनका लागि एमाले मोरङले समेत सहयोग गर्ने निर्णय गरेको छ ।