खबर पूर्वाञ्चल
सिक्किमको एमजी रोडको नमुनाका रुपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन सकेको थिएन । महानगरका मेयर नागेश कोइरालाले ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएका थिए । मेयरको निर्देशनपछि हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतको सौन्दर्यकरणको काम तीव्र रुपमा भइरहेको छ ।
सो सडकको संरचना बिगारेको भन्दै केही स्थानीय अझै पनि विरोध गर्दै आएका छन् । यो सडकलाई एमजी रोडकै नमुनामा बनाउनु हुने र नहुने पक्ष–विपक्षमा स्थानीयसमेत विभाजित भएका छन् । तर, महानगरको ठूलो लगानी भइसकेकाले बनाउनुको विकल्प नभएको मेयर कोइरालाले बताए । “अब हामी यो रोडको डिजाइन अनुसारका सबै संरचना निर्माण गरेर चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौं,” मेयर कोइरालाले भने, “त्यसका लागि ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिइसकेका छु ।” मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीयसहितको टोलीले तीनपटक अनुगमन समेत गरिसकेको छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । बिहीबार पनि प्रमुख प्रशासकीय अधिकृत कोइराला र प्राविधिकसहितको टोलीले निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको थियो ।