AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा निर्वाचनको सबै तयारी पूरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०७९, शुक्रबार १८:२३
81
Shares
विराटनगर / आगामी आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा सबै तयारी पूरा भएको छ ।

मतदान स्थलको व्यवस्थापन, जनशक्ति परिचालन, निर्वाचन सामग्री ढुवानी समेतका काम सकिएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिँदै उनले त्रास र भयरमुक्त वातावरणमा मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे । मतदान स्थल तथा केन्द्रको सुरक्षा व्यवस्था मजवुत बनाइएकाले मतदाताले ढुक्क भएर मतदान गर्नसक्ने उनको भनाइ छ ।

मतदाता, उम्मेदवार तथा निर्वाचनमा परिचालित कर्मचारीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको अधिकारीले बताए । उनका अनुसार १४ जिल्ला रहेको प्रदेशमा १ हजार ८ सय ९७ वटा मतदान स्थल र ४ हजार ९९ वटा मतदान केन्द्र छन् । तीमध्ये ४ सय ३८ वटा अति संवेदनशील, ८ सय २४ वटा संवेदनशील र ६ सय ३५ वटा मतदानस्थल सामान्य छन् । प्रदेशमा ३३ लाख ९६ हजार ८ सय ३५ जना मतदाता छन् । जसमा १७ लाख २९ हजार ७ सय ७२ पुरूष, १६ लाख ६७ हजार ७१ जना महिला तथा २२ जना अन्य मतदाता रहेका हुन् । अधिकारीका अनुसार निर्वाचनका लागि प्रदेशमा १४ हजार ५ सय स्वयंसेवक र ३१ हजार कर्मचारी परिचालन गरिएको छ ।

प्रदेश १ मा प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ वटा निर्वाचन क्षेत्र छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले निर्वाचनका लागि म्यादी, सशस्त्र र नेपाल प्रहरीसहित ३६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दूरीमा नेपाली सेनालाई पनि खटाइएको बस्नेतले बताए । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाउन र सुरक्षामा कुनै पनि समस्या आउन नदिन प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरी र सशस्त्र प्रहरी प्रमुख डीआईजी कमल गिरीले निर्देशन दिएका छन् ।

प्रदेशका १४ जिल्लामध्ये निर्वाचन सुरक्षाका दृष्टिले भारतसँग खुला सीमा जोडिएका तराईका मोरङ, झापा र सुनसरी अति संवेदनशील जिल्लाभित्र पर्छन् । निर्वाचनका सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर प्रदेशभरि नै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी गिरीले बताए । ‘सुरक्षाकर्मी मतदान स्थलमा खटिसकेका छन् । निर्वाचन सामग्री पुर्याइ सकिएको छ,’ उनले भने, ‘निर्वाचन बहिष्कार गरेको समूहको गतिविधिमाथि निगरानी बढाइएको छ ।

निर्वाचन भयरहित हिसाबले सम्पन्न गर्ने वातावरण बनेको छ ।’ खुला सीमा, अवैध गतिविधि, सीमा क्षेत्रबाट हुनसक्ने घुसपैठ, निर्वाचन बहिष्कार गर्ने समूहमाथिको निगरानी तथा मतदान स्थलमा सम्भावित अवाञ्छित क्रियाकलाप नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षाकर्मीले काम गरिरहेको गिरीले बताए । निर्वाचनलाई लक्षित गरेर मानिस तथा सवारीसाधनलाई आवत जवातमा रोक लगाउँदै गए रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमानाका शील गरिएको छ ।

निर्वाचनका बेला कुनै पनि घुसपैठ, अवाञ्छित गतिविधि र अपराधिक घटना हुन नदिन नाकामा उच्च सतर्कता अपनाइएको छ । निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष, मर्यादित र धाँधलीरहित बनाउन राज्यका संयन्त्र परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर