खबर पूर्वाञ्चल
मोरङ क्षेत्र नं. ६ (१) को प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का तर्फबाट रीता न्यौपाने उम्मेदवार छिन् । उनीप्रति दिन प्रतिदिन जनलहर बढिरहेको छ । चुनावको मिति नजिकिदै गर्दा महिला मतदाताहरू पनि सामुहिक रुपमा महिला उम्मेदवार जिताउने अभियानमा जुटेका हुन् । विभिन्न सहकारी, समूहमा भेला भएर महिला मतदाताहरू कसरी महिला उम्मेदवारलाई जिताउने भन्ने विषयमा छलफल गर्ने गरेका छन् ।
मोरङमा प्रदेशसभा सदस्यको लागि एकमात्र महिला उम्मेदवार भएका कारण महिलालाई जिताउनु पर्ने विराटनगर ४ की अप्सरा गौतमको राय छ । ‘अहिलेसम्म हामीले पुरुषलाई मात्र जिताएका छौं’, उनले भनिन्, ‘संघियता लागू भएपछि अहिले दोस्रोपटक निर्वाचन हुँदैछ, पहिलो पटक पुरुषमात्र धेरै विजयी हुनुभयो, प्रदेश सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने महिलाहरू पनि कम हुनुहुन्छ, महिलाले जित्दा हामी महिलालाई आफ्ना समस्या राख्न पनि सजिलो हुन्छ, त्यसकारण पनि महिला उम्मेदवारलाई जिताउन आवश्यक छ ।’
भोट नविग्रियोस् भनेर मतदाता शिक्षा पनि तीव्र रुपमा सञ्चालन गरिएको बुढीगङ्गाकी तुलसी विष्टले जानकारी दिइन् । मत बदर धेरै हुँदा पनि अर्कोले जित्ने सम्भावना बढ्ने भएकाले मतदाता शिक्षालाई प्राथमिकता दिइएको उनले बताइन् । टोलटोलमा दुई, तीनजना खटाएर भोट हाल्न सिकाउने काम भइरहेको विष्टले बताइन् ।
जुनसुकै पार्टीको भएपनि महिलाले महिला उम्मेदवारलाई भोट हाल्नुपर्ने नेपाली काँग्रेस समर्थक एक महिला नेत्रीले बताइन् । प्रदेश सभामा महिलाको प्रभावकारी सहभागिता र महिलाका विषय उठाउनका लागि पनि महिला उम्मेदवारलाई जिताउनुपर्नेमा उनले जोड दिईन । ‘महिला मात्र भन्दा पनि उहाँमा कुनै पुरुष भन्दा कम क्षमताको हुनुहुन्न’, उनले भनिन्, ‘नेतृत्व गर्न सक्ने क्षमता छ, भिजन छ, उहाँले जितेपछि काम गर्नुहुन्छ, समग्रमा सबै हिसावले उहाँ योग्य हुनुहुन्छ ।’
क्षेत्र नं. ६ (१) मा विराटनगर महानगरपालिकाको वडा नं. ४, बुढिगङ्गा गाउँपालिकाका ७ वटा वडा र सुन्दरहरैंचा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ नं. वडा पर्दछन् । यस क्षेत्रका अधिकाँश महिलाहरू महिला उम्मेदवार जिताउने अभियानमा सशक्त भएर लागि परेका छन् ।