खबर पूर्वाञ्चल
पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने पनि एमाले अध्यक्ष ओलीले प्रस्ट परे । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नं. १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिंदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’
दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षडयन्त्रस्वरुप स्वतन्त्र अभियान चलाइएको उनको भनाई थियो । अध्यक्ष ओलीले यो अभियानलाई दलीय व्यवस्था विरोधी अभियानका रुपमा परिभाषित गरे । अध्यक्ष ओलीले भने, ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरु कोही भ्रममा नपर्नु होला, एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’
अध्यक्ष ओलीले पार्टी कार्यकर्तालाई मतपेटीकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिए । उनले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताए ।
एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटक पटक मन्त्री भएको बताउँदै अध्यक्ष ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताए ।
एमाले– जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गरे । मंसिर ४ पछि बन्ने एमालेको सरकारमा अशोक राई पुनः मन्त्री बन्ने संकेत पनि गरे ।
अध्यक्ष ओलीले धरानको खानेपानीको दीगो व्यवस्थापनका लागि तीन वटा अवसरहरु रहेको बताए । कोशी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दीगो व्यवस्थापन गर्ने । उनले मंसिर ४ पछि सर्वे सुरु गर्ने समेत बताए ।
‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, एमालेको सरकार चाहिन्छ,’ अध्यक्ष ओलीले भने, ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्ने छौं, काम सुरु गर्ने छौं, स्थायी ढंगले, छेउमै कोशी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’
‘अहिले पानी परे पनि घाम लागे पनि छातै ओढ्ने हो’
अशोक राई अर्को पार्टीबाट उम्मेदवार भएको अवस्थामा केही भन्न नमिल्ने एमाले अध्यक्ष ओलीले बताए । उनको भनाइले अशोक राई एमालेमा फर्कन सक्ने संकेत गरिरहेको थियो ।
यस अघि सञ्चारकर्मीहरुको प्रश्नमा उम्मेदवार अशोक राईले समेत राजनीतिमा अनन्त सम्भावना रहेको बताउँदंै आएका थिए ।
‘यही पार्टीमा आउनुस् भन्यो भने सूर्य चिह्न लिन पाउनुहुन्न, अहिले त्यो मौकै छैन, अहिले त छातै ओढेर हिंड्ने होला,’ अशोक राईतर्फ हेर्दै अध्यक्ष ओलीले भने, ‘छाता चिह्न होइन त ?’
अध्यक्ष ओलीको प्रश्नले कार्यकर्तामा हाँसोको फोहोरा छुटेको थियो । उम्मेदवार राई समेत गलल हाँसे । उनले पुनः भने, ‘पानी परे पनि ठीकै छ, घाम लागे पनि ठीकै छ, जतिखेर पनि ओढ्नै पर्यो, अहिलेको कुरा त्यही हो, भविष्यले बताउँदै जाला ।’