animated ellipse animated ellipse

अनुसन्धानमा अब्बल प्रहरी सहायक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ कार्तिक २०७९, मंगलवार १५:१४
99
Shares
विराटनगर / अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्तबहादुर विष्ट पुरस्कृत भएका छन् ।

६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ नगदसहित कदर पत्र र दोसल्ला ओढाएर धनराशिको आठौँ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रदान गरिएको हो ।

प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने दुई जना प्रहरीलाई जनही ५०÷५० हजारले प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गर्दै आएको छ ।

पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक विष्टले सुनसरी जिल्लाका भएका विभिन्न जघन्य अपराधको घटनाको सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतको रूपमा कहलिएका छन् । उनले सुनसरीमा विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गर्नुको साथै कर्तव्य ज्यान जस्तो गम्भीर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गर्न सफल भएका छन् ।

विष्टले जघन्य अपराधको सूक्ष्म तरिकाले अनुसन्धान गरी घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो ।

मोरङमा रहँदा पनि विष्टले जघन्य अपराधको सफल अनुसन्धान गर्नुको साथै घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन अहम् भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको थियो । प्रहरी हल्ल वार रहेका विष्टलाई मोरङमा रहँदा उनले गरेको कामको उच्च मुल्याकन गर्दै सङ्गठनले असाइमा बढुवा गरेको थियो ।

वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरू मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधाद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरूप साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा। विक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरेका थिए ।

प्रहरी जवान तथा अधिकृतहरूको मनोबल उच्च राख्न यस साधनादेवी प्रहरी पराक्रम पुरस्कारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आफ्नी स्वर्गीय माता साधना देवी श्रेष्ठको नाममा वार्षिक रूपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. विक्रम प्रसाद श्रेष्ठलाई निमित्त प्रदेश प्रहरी प्रमुखले हार्दिक धन्यवाद दिए । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाइ बधाई समेत दिए ।

सोही अवसरमा इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी हल्दार हुमेन्द्रप्रसाद यादव पनि नगद ५० हजार रुपैयाँसहित पुरस्कृत भए । पुरस्कृत हुने प्रहरी द्वयले आफूबाट सम्पादित कार्यहरूको मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरीको रूपमा आफूलाई छनौट गरिएबाट सङ्गठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।

स्वर्गीय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उद्देश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा।विक्रम श्रेष्ठले आफू लगायत आफ्नो परिवार खुसी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर