महानगरले कानुन विपरित विद्यालयमा शिक्षक नियुक्ती, स्थायी शिक्षकलाई मेयरले बनाए पिए

खबर पूर्वाञ्चल, २४ श्रावण २०७९, मंगलवार १८:५३
2.49k
Shares
विराटनगर / विगतमा आफू अनुकुलका व्यक्तिहरुलाई करारमा नियुक्ति दिएको विराटनगर महानगरले अहिले कानुन विपरित विद्यालयमा शिक्षक नियुक्त गर्न थालेको छ ।

विराटनगर महागनरपालिकाले विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई काजमा सरुवा गरेर रिक्त रहेको ठाउँमा सट्टा शिक्षक नियुक्त गर्ने नयाँ अभ्यासको थालनी गरेको छ । यसअघि खेताला शिक्षकहरु हटाउने अभियान देशव्यापी रुपमा चलेको थियो । महानगरले त्यही गलत कार्यशैलीलाई निरन्तरता दिएको छ ।

महानगरपालिकामा रहेको महेन्द्र माध्यमिक विद्यालयका दुई शिक्षक महानगर र प्रदेश योजना आयोगमा काज सरुवा लिएर गएपछि विद्यालयमा खेतला शिक्षक राखिएको छ । प्राथमिक तहका शिक्षक डिकप्रसाद घिमिरे महानगरपालिका र शिक्षिका अन्जु खड्का प्रदेश योजना आयोग गएपछि विद्यालयमा खेतला शिक्षक राखिएको हो ।

घिमिरेको जिम्मेवारी विराटनगरका मेयर नागेश कोइरालाको सचिवालयमा छ । आयोगमा खड्काको जिम्मेवारी सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रदेशसभा हेर्ने गरी दिइएको छ । मेयर कोइरालाको इन्ट्रेष्टका आधारमा महेन्द्र माध्यमिक विद्यालयका प्राथमिक तहका स्थायी शिक्षक घिमिरेलाई सचिवालयमा ल्याएको हो । घिमिरेलाई गत जेठमा मेयरको सचिवालयमा काज सरुवा गरिएको महानगरपालिकाले जनाएको छ ।

घिमिरेको स्थानमा नियुक्त भएका खेतला शिक्षकलाई महानगरपालिकाको कार्यालयबाट तलब भुक्तानी गर्नेछ । दुई शिक्षकको आवश्यकताका आधारमा काज सरुवा भएपछि विद्यालयमा सट्टा शिक्षक राखिएको विराटनगर महानगरपालिका शिक्षा प्रशासन शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए । उनका अनुसार नियुक्त भएका एक शिक्षकको तलब महानगर र अर्काको तलब प्रदेशले उपलब्ध गराउनेछ ।

महेन्द्र माध्यमिक विद्यालयका प्राधनाध्यापक सम्भू साहले दुई शिक्षक काजमा गएपछि दुई जनालाई करारमा नियुक्त गरिएको बताए ।

उनका अनुसार अन्जु गत चैतमा र घिमिरे जेठमा स्कुलबाट काजमा गएका थिए । उनका अनुसार प्राथमिक तहमा सपनाकुमारी यादव र सुलेखा साह नियुक्त भएका छन् । उनीहरुको नियुक्ती केही दिनअघि मात्रै भएको हो ।

महानगरको शिक्षा शाखामा १० जनाको दरबन्दी भएपनि एक वर्षसम्म ४ जना कर्मचारीले मात्र काम गर्नुपरेकोले जनशक्ति व्यवस्थापन गर्नुपरेको खतिवडाले बताए । ‘हाम्रो शाखामा १० जनाको दरबन्दी छ । तर, ४ जनामात्रै छौं । लोकसेवाबाट कर्मचारी आपूर्ति भएको छैन, त्यसैले काजमा ल्याएर पनि काम लगाउन परेको हो ।’ शिक्षा शाखाका लागि काजमा ल्याएको भनिएपनि प्रमुखको सचिवालयमा शिक्षकलाई खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५