खबर पूर्वाञ्चल
शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ विर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकलाई उनकै श्रीमान तिलक मल्लिकले मट्टितेल छर्की आगो लगाई हत्या गरेका हुन् । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए । ‘घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरुको घर पनि जलेको छ’ उनले भने ।
शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थियो । आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा आज विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।
प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जनामात्र बसोबास गर्थे । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ ।