खबर पूर्वाञ्चल
प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी नेतृत्वको टोलीले आज महानगरका मेयर नागेश कोइरालालाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । विपदको बेला सहयोग गर्नु मानवीय धर्म भएकाले महानगरमार्फत हुने विपद व्यवस्थापनका लागि राहत रकम उपलब्ध गराइएको प्याब्सन विराटनगरका अध्यक्ष बुढाथोकीले बताए । प्याब्सन महानगर समितिले सदस्य चिरञ्जीवि तिम्सिनाको संयोजकत्वमा बाढीपीडित सहयोग उपसमिति बनाएको थियो । आफ्ना सदस्य विद्यालयहरुबाट संकलन गरिएको रकम महानगरपालिकामार्फत राहत वितरण गर्ने गरी राहत रकम हस्तान्तरण गरिएको संयोजक तिम्सिनाले जानकारी दिए ।
एकद्वार प्रणालीमार्फत राहत वितरण गर्दा पारदर्शी र वास्तविक पीडितले पाउने भएकाले महानगरलाई राहत रकम उपलब्ध गराइएको उनले प्रस्ट पारे । राहत रकम बुझ्दै मेयर कोइरालाले महानगरको आहवानलाई आत्मसात गरेर रकम उपलब्ध गराएकोमा प्याब्सनलाई धन्यवाद दिए ।
प्याब्सनले यसअघि पनि विपदको समयमा खाद्यन्न, लत्ताकपडा वितरण गर्दै आएको छ । मेयर कोइरालालाई अध्यक्ष बुढाथोकी, संयोजक तिम्सिना, सचिव अशोक लामा, कोषाध्यक्ष नन्दलाल मण्डल, सदस्य हिरा थापालगायतले चेक हस्तान्तरण गरे ।