RUMPUM
animated ellipse animated ellipse

‘पेटभित्रको भ्रुणको लिंग पहिचान गर्ने डाक्टर ‘ठग’ हुन् ’ छोरी भन्दै छोराको भ्रुणपनि गर्भपतनको शिकार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०७९, सोमबार १८:२६
837
Shares
अनुज सापकोटा
गर्भमा रहेको भ्रूणको लिंग पहिचान गराउने ‘टे«ण्ड’ बढ्दो छ । डाक्टरले गर्भमा रहेको भ्रुणको लिङ्गको पहिचान पश्चात छोरी भए गर्भपतन गराउनेको संख्यापनि व्यापक बन्दै गएको छ । तर सामान्य अल्ट्रासाउण्ड वा भिडिओ एक्सरेको भरमा भ्रूणको लिङ्ग पहिचान गर्ने डाक्टर ‘ठग’ रहेको रहस्योघाटन भएको छ ।

नेपालमा वग्रेल्ती अल्ट्रासाउण्ड र भिडिओ एक्सरे क्लिनिक खुलेका छन् । गर्भवती महिलाहरू गर्भमा छोरा कि छोरी भन्दै यस्ता क्लिनिक धाउने गरेका छन् । छोरा भए जन्म दिने र छोरी भए गर्भपतन गराउने सोच अझै हट्न सकेको छैन । तर यदि कुनै डाक्टर वा रेडियोलोजिष्टले अल्ट्रासाउण्ड वा भिडियो एक्सरेकै भरमा छोरा वा छोरी भनेर बताउन सक्छ भने त्यस्तो डाक्टर वा रेडियोलोजिष्ट ठग रहेको किटान गरिएको छ ।

प्रदेश नं. १ को राजधानी विराटनगरमा शुक्रबार आयोजना गरिएको विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति २०७८–२०८८ प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले अल्ट्रासाउण्ड र भिडियो एक्सरेको भरमा गर्भभित्र रहेको भ्रुणलाई छोरा वा छोरी भनेर बताउन सक्ने डाक्टरलाई ठगको संज्ञा दिएका छन् । उनले साधारण अल्ट्रासाउण्ड र भिडियो एक्सरेले कुनै पनि हालतमा गर्भमा हुर्किरहेको भ्रुण छोराको हो कि वा छोरीको हो त्यो भन्न नसकिने दावी गरे ।

नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मन्जुरीमा पतन गर्न कानूनले मान्यता दिएको छ । समाज आधुनिक बन्दै गएपनि गर्भमा छोरी बस्यो भनेर गर्भपतन गराउने चलन घट्नुको साटो व्यापक बन्दै गएको छ । डा. खरेलले यदि कोइ डाक्टरले अल्ट्रासाउण्ड वा भिडियो एक्सरेको भरमा छोरा वा छोरी हो भनेर भन्छ भने त्यो हावादारी गफ बाहेक केही नभएको स्पष्ट पारे । उनले २४ देखि २८ हप्तासम्मको भ्रूणको पनि लिङ्ग किटान गर्नै नसकिने अडान कसे ।

डा. खरेलले भने,‘ इटहरीको एक क्लिनिकले भ्रुणको लिंग किटान गर्ने गरेको छ भनेर विराटनगरबाट पनि अत्याधिक संख्यामा गर्भवती महिला त्यहाँ पुगे । तर त्यो सबै वाइहात हो । भ्रूणको लिंगपहिचान भन्दै सर्वसाधारणलाई वेवकूफ बनाउने धन्दा थियो । ’ डा. खरेलले शरीरको शारीरिक संरचना जटिल भएको हुनाले बच्चा नजन्मिउँजेल छोरा वा छोरी भनेर दावी गर्ने स्थिति नरहने र कसैले त्यसो गरे त्यो ठगी हुने बताए । कोरियोनिक भील्लस स्याम्पलिङ(सीभीएस) भन्ने पद्दत्तिले मात्र लिङ्ग पहिचान गर्न सक्ने भन्दै अल्ट्रासाउण्ड वा भिडियो एक्सरेको नाममा उपकरण पेटमा घुमाएको भरमा छोरा वा छोरी नचिनिने डा. खरेलको तर्क थियो । नेपालमा सीभीएस चलनमा छैन । डाक्टरले हचुवाको भरमा अन्दाजी लिङ्ग पहिचान गरिदिँदा छोरी भन्दै छोरा भू्रणहरूपनि गर्भपतनको शिकार भएको डा. खरेलले जानकारी साझा गरे ।

कार्यक्रममा कृपाबाट प्रतिनिधि अर्चना श्रेष्ठ, प्रमुख आनन्द तामाङ, नर्सिङ अधिकृत सोनालक्ष्मी कर्माचार्य, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीले कार्यपत्र प्रस्तुत् गर्दै रणनीतिको उद्देश्यमाथि प्रकास पारेका थिए । कानून बमोजिम बाहेक लिङ्ग पहिचान गरी गरिने गर्भपतनको विरूद्धमा आवश्यक नीति, योजना तथा कार्यक्रमहरूको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नु, लिङ्ग पहिचान गरी गरिने गर्भपतनाका विरूद्धमा सोच र व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनु जस्ता उद्देश्य रणनीतिले बोेकेको छ ।

कार्यक्रममा बोल्दै विराटनगर उपमहानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, प्रदेश १ का स्वास्थ्य सचिव डा. अनुज भट्टचन र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको जनसंख्या व्यवस्थापन महाशाखा प्रमुख इन्द्रमणी पोखरेलले छोरीलाई पनि छोरा झैं महत्व दिएर लैङ्गिक समानता सुनिश्चित गर्नु पर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर