विमान दुघर्टनापछि ६५ प्रतिसतले घट्यो विमान चढ्ने यात्रुको संख्या

खबर पूर्वाञ्चल, २१ जेष्ठ २०७९, शनिबार २०:४४
4.84k
Shares

अनुज सापकोटा
हवाइ यात्रालाई संसारकै सबैभन्दा सुरक्षित यात्रा मानिन्छ । तर नेपालमा हवाइयात्रा जोखिमपूर्ण बनेको छ । विमान दुघर्टनाका कारण मन्त्रीदेखि सर्वसाधारणले ज्यान गुमाएका छन् । ज्यान नगुमाएपनि उडिरहेको विमानमा देखिने प्राविधिक समस्याका कारण सातो जाने यात्रुको संख्यापनि बाक्लै छ । विमानमा हुने गरेको बढ्दो प्राविधिक खराबी र दुघर्टनाका कारण हवाइयात्रा भन्ने वित्तिकै कतिपयको आङ्ग सिरिङ्ग हुन थालेको छ ।

केहि समय पहिले धनी र शौकिनले मात्र गर्ने हवाइ यात्रामा सर्वसाधारणको पहुँच व्यापक बन्दै गएको छ । नेपाली आकाशमा सरकारी नेपाल एयरलाइन्सको एकाधिकारलाई लगभग समाप्त पार्दै थुप्रै निजी विमान कम्पनीले सेवा विस्तार गर्दै गएका छन् । तर नेपाली आकाशमा विमानको संख्या बढेसँगै दुघर्टना ह्ुने क्रमपनि बढ्दै गएको छ । प्रतिस्पर्धाको नाममा निजी विमान कम्पनीले धेरै विमान भित्राउने होडमा विदेशमा हजारौ घण्टा उडान भरिसकेको, सस्तो दरमा कमसल सेकेण्ड ह्याण्ड विमानलाई भित्राएर सार्वजनिक उडान भर्दै आएका छन् ।

आन्तरिक उडानमा उड्ने गरेका विमानको चक्का नखुल्ने, पखेटा नमोडिने, चरा ठोक्किने, ढोका नलाग्ने जस्ता समस्या सामान्य बन्दै गएको छ । दिनहुँ सुनिने यस्ता खाले समस्यालाई सर्वसाधारणले सामान्य लिन थालेका छन् । पोखराबाट जोमसोम जाने क्रममा भएको तारा एयरको विमान दुघर्टना सेलाउन नपाउँदै हालै जेठ १८ गते काठमाडौबाट झापाको लागि उडेको बुद्ध एयरको विमानको टायरमा समस्या देखियो र यात्रुलाई तर्साउँदै काठमाडौ नै फर्कियो । काठमाडौं नफर्कुञ्जेल यात्रु विमानभित्र रामराम गर्न बाध्य भए । गत असोज ११ गते बुद्ध एयरकै विमानको ल्याण्डिङ्ग गियर खुल्न नसकेपछि विराटनगरमा अवतरण गराउनको साटो काठमाडौ नै फर्काउनु परेको थियो । विमानभित्रका यात्रुले विमान ल्याण्ड नहुञ्जेल आफन्त जति सबै सम्झि भ्याएका थिए ।

विमानमा हुने गरेको अत्याधिक प्राविधिक समस्या र दुघर्टनाका कारण सर्वसाधारण विमान चढ्न भनेपछि अत्तालिन थालेका छन् । तारा एयरको दुघर्टना र लगत्तै भएको बुद्ध एयरको प्राविधिक समस्याका कारण सर्वसाधारणले हवाइ यात्राभन्दा सडक यात्रामा जोड दिन थालेका छन् । विराटनगर–४ का भण्डारी थर भएका एक दम्पत्तिले विमानबाट काठमाडौसम्मको यात्रा गर्ने चाँजोपाँजो मिलाएका थिए । तर तारा र बुद्ध एयरको घटना टिभीमा हेरेपछि ती दम्पत्तिले विमान चढ्न आँटै गर्न सकेनन् । उनीहरू बसमा चढेर काठमाडौ हानिए ।

महेन्द्रचोक स्थित हलेसी ट्राभल्स एण्ड टुर्समा कार्यरत अंकित गुरूङ्गले तारा एयरको दुघर्टना र लगत्तै बुद्ध एयरको प्राविधिक समस्यापछि विमानमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घटेको बताए । उनले काठमाडौबाट आउने र विराटनगरबाट जाने विमानहरू खाली–खाली रहने गरेको बताए । विमानमा यात्रा गर्ने यात्रुको संख्या ६५ प्रतिसतले घटेको गुरूङको किटान थियो । गुरूङ्गले भने,‘बुद्ध एयरको ८, यतिको ६, सौर्यको १, गुणको १, श्री एयरलाइन्सको ४ उडान विराटनगरबाट हुने गरेकोमा यात्रु अभावमा ६५ प्रतिसत सीट खाली जाने गरेको छ । ’

विराटनगर–११ स्थित विराटनगर बस टर्मिनल छेउमा रहेको उदिता काव्य काउण्टरका राजु लामाले विराटनगरबाट काठमाडौ जाने बसका यात्रु बढेको बताए । उनले आगामी तीन दिनसम्मको बसको टिकट लगभग ‘प्याक’ भएको जानकारी दिए । विमान दुघर्टनाको खबरका कारण विमान चढ्ने इच्छा हुँदाहुँदैपनि यात्रुले मूड चेन्ज गरी बस चढ्ने गरेको लामाले बताए । अनुज सापकोटा न्यू सृष्टि दैनिका प्रमुख सम्वादाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५