सिटी मार्बल्सले ४३ प्रतिशतसम्म मुनाफा लिएर उपभोक्तालाई कमोड बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले २ लाख जरिवना गराएको हो ।
१८ हजार ५ सय ३५ रुपैयाँमा खरिद गरेको कमोड सिटी मार्वल्सले उपभोक्तलाई २६ हजार ५ सयमा बिक्री बितरण गरेको अनुगमनको क्रममा भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार सिटी मार्बल्सलाई कारवाहीको दायारमा ल्याएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
सिटीले उर्लाबारीकी ताराकुमारी बस्नेतलाई एकथान कमोड (शौचासन) बिक्री गर्दा ४३ प्रतिशत मुनाफा लिइएको भेटिएको हो । विराटनगरमा सस्तो मूल्यमा सामान पाइएला भनेर आएकी बस्नेतले एउटा कमोडलाई २६ हजार ५०० भुक्तानी गरेकी थिइन् । सिटी मार्बल्सले २०७८ फागुन २६ गते १८ हजार ५३५ रुपिँया मूल्यमा सामान खरिद गरेको थियो । कम मूल्यमा खरिद गरेर स्टकमा रहेको सामान बढी मूल्यमा बिक्री गरेको पाइएको हो । ‘ज्याकवार ब्राण्डको कमोडको अधिकतम बिक्री मूल्य कम्पनीले मुल्य २३ हजार ८६० रुपैयाँसम्म तोकेको रहेछ । तर,सिटी मार्बल्सले अधिक मुनाफा राखि कमोड बिक्री गरेको भेटिएपछि कारवाहीको दायारमा ल्याएको हो,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘गलत व्यापारिक क्रियाकलपले उपभोक्तासँग बढी लिएको ५ हजार ३५० रुपैयाँ फर्मबाट फिर्ता दिलाएका छौं ।’
सामान खरिद गरेको मितिको मूल्यमा अधिकतम २० प्रतिशत मात्रै नाफा लिन पाइन्छ । तर, सिटी मार्बल्सले स्टकमा रहेको सामानलाई नयाँ मूल्य सूचिका आधारमा बिक्री गरेर बढी मुनाफा आर्जन गरिएको हो ।
वाणिज्य कार्यालयले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा १०७ वटा फर्मको अनुगमन गरेको छ । जसमध्ये २८ वटा फर्म जरिवानामा परिसकेका छन् । जरिवाना भराएका २८ फर्मबाट चालु आर्थिक वर्षमा १२ लाख ५७ हजार रुपिँया असुल गरिएको पोखरेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया