खबर पूर्वाञ्चल
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको उपस्थितिमा आइतबार छलफल भएको हो ।
प्रदेश १ को राजधानी विराटनगरलाई डुबानबाट रोक्न सिंघिया र केशलिया खोलामा तटबन्ध निर्माण गर्ने विषयमा छलफल भएको थियो । छलफलमा स्वीस सरकारका प्रतिनिधि विनोद उपाध्यायले विराटनगरको डुबान समस्या समाधानका लागि स्वीस सरकार आर्थिक सहयोग गर्न तयार रहेको बताए । नेपालको भौतिक पूर्वाधारको विकासमा स्वीस सरकारले विगतदेखि नै सहयोग गर्दै आएको स्मरण गराए ।
मेयर कोइरालाले तत्कालका लागि विराटनगरलाई डुबानबाट मुक्त गर्नुपर्ने बताए । आफूले घोषणापत्रमै केसलिया र सिंघिया खोलामा तटबन्ध बाँधेर विराटनगरलाई डुबानबाट मुक्त गर्ने उल्लेख गरेको बताए । “पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केशलियामा तटबन्धन बाँधेमा विराटनगर डुबानबाट मुक्त हुने थियो,” उनले भने, “त्यसका लागि आन्तरिक बजेटले सम्भव छैन, स्वीस सरकार तटबन्धन निर्माणमा आर्थिक सहयोग गर्न तयार भएको छ ।” नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंलाई साथमै लिएर छलफलका लागि आर्थिक मन्त्रालय पुगेका मेयर कोइरालाले विराटनगरको विकासका लागि आर्थिक स्रोत जुटाउन आफू लागि परेको सुनाए । उनले आर्थिक मन्त्रालयसहित प्रदेश सरकारसँग समन्वय गरेर दातृ निकायसित विराटनगरको विकासमा लगानी गर्न आग्रह गरिने बताए । डुबान समस्या साधानका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको उनले जानकारी दिए ।
आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले प्रदेश राजधानी भएकाले विराटनगरको समग्र विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले महानगरको विकासमा प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । तटबन्धन निर्माणका लागि तत्कालै डीपीआर निर्माण सुरु गर्न स्वीस सरकारका प्रतिनिधि सहमत भएका छन् ।