खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार उमेश यादव र उपमेयर उम्मेदवार नमिता न्यौपाने पनि एउटै चुनाव चिह्न लालटिन लिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादव र सत्तारुढ गठबन्धनप्रति असन्तुष्ट हुँदै नेकपा माओवादी केन्द्रबाट विद्रोह गर्दै विराटनगरकी सचिव नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनमा आवद्ध दलका नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेका यादव र न्यौपानेले एउटै चुनाव चिह्न लालटिन पाएका हन् ।
यादव जसपाबाट मेयरको आकांक्षी थिए । केन्द्रमा गठबन्धन गर्दा मेयरमा कांग्रेस र उपमेयरमा जसपाको भागमा परेको थियो । उपमेयरमा उपेन्द्र यादवका छोरा अरमेन्द्रले टिकट पाउने भएपछि उमेशले पार्टी परित्याग गरेका थिए । नमिताले महिलाको प्रतिनिधित्व गर्नका लागि उम्मेदवारी दिएको बताएकी छिन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल हुँदा मेयरमा यादव र उपमेयरमा न्यौपाने उम्मेदवार बनेका थिए ।
पाँच वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा उमेश र नमिता पुन एउटै चुनाव चिह्न लिएर मैदानमा होमीएका छन् ।
स्थानीय तह निर्वाचनको मिति घोषणा अघिदेखि नै मेयरमा उम्मेदवारी दिने तयारी स्वरुप घरदैलो गरिरहेका यादवले सत्तारुढ दलले कांग्रेसले मेयरको टिकट पाउने निर्णय गरेपछि जसपा छाडेका थिए ।
सत्तारुढ गठबन्धनमा मेयर उपमेयर छाड्नुपरेपछि माओवादी केन्द्रले वडा अध्यक्षमा दाबी गरेको थियो । तर कांग्रेसले वडा तहमा तालमेल गर्न नमानेपछि न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएकी हुन् । पार्टीले निर्देशन दिए पनि उनले उम्मेदवारी फिर्ता भने लिइनन् । मनोनयन दर्तापछि यादव र न्यौपानेले एउटै चुनाव चिह्न लिने सल्लाह गरेका थिए ।
मेयरका उम्मेदवार उमेश यादवले एउटै चुनाव चिह्न भएका कारण सहकार्य गर्न सजिलो हुने बताए । ‘स्वतन्त्र उम्मेदवारले सबैसँग सहकार्य गर्छन’, उनले भने,‘ चुनाव चिह्न एउटै छ, चुनावमा सहकार्य हुन सक्छ ।’
उपमेयरकी उम्मेदवार नमिता न्यौपानेले यादवसँग सहकार्यको सम्भावना रहेको बताउँछिन् । ‘संयोगले चुनाव चिह्न मिल्यो, तर सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छैन’, उनले भनिन्,‘आज चुनाव चिह्न आयो, भोलिबाट म घरदैलो गर्छु ।’
मेयर जित्ने दाबी गरिरहेका यादवले सत्तारुढ गठबन्धनको भोट काट्ने नेताहरुको विश्लेषण छ ।
विराटनगरको दक्षिण क्षेत्रमा यादवको प्रभाव राम्रो छ । न्यौपानेको विराटनगरको बजार क्षेत्रमा राम्रो प्रभाव छ । ‘२०७४ मा म दोस्रो भएकी थिएँ, महानगरबासीको मलाई सहयोग छ’, न्यौपाने भन्छिन्,‘म चुनाव जित्छु ।’
विराटनगर महानगरपालिका– ८, १२, १४,१५,१६, १७ र १८ नम्बर वडामा प्रभाव रहेका यादवलाई सत्तारुढ गठबन्धन र नेकपा एमालेले सहयोगका लागि आग्रह गरेका थिए ।
उनी उम्मेदवार कायम रहदा गठबन्धनलाई घाटा हुने भन्दै गठबन्धनका नेताले उम्मेदवारी फिर्ता लिन आग्रह पनि गरेका थिए । तर उनले मानेनन् ।
‘अगाडि देखि नै चुनावी अभियानमा हिडेका कारण प्रभाव छ’, जसपाका एक नेताले भने,‘ चुनाव चिह्न चिनाउन सके भने राम्रै मत पाउँछन् ।’ गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला गठबन्धनका कार्यकर्ताले इमान्दार भएर आफ्ना उम्मेदवारलाई मतदान गर्ने बताउँछन् ।