पूर्वाञ्चल खबर
इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी प्रेस युनियनले अक्षयकोष स्थापना गरिएको हो ।
गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो । जसमध्ये राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रहेको छ ।
शिवप्रसाद घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आज एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको स्थापना गरिएको हो ।
आफूहरूले व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उदेश्यले उक्त पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको घिमिरेले बताए । ‘पत्रकारिता क्षेत्र समाजको महत्वपूर्ण अंगको रूपमा मानिन्छ, सो क्षेत्रमा निरन्तर लाग्नेहरूलाई पुरस्कार प्रदान गर्ने उदेश्यले यो अक्षयकोषका लागि हामीले सम्झौता गरेका हौं,’ उनले भने, ‘सामाजिक उत्तरदायी बन्नुपर्छ भन्ने उदेश्यले व्यवसायबाट प्राप्त केही रकम छुट्याइएको हो ।’
युनियन सुनसरी अध्यक्ष अधिकारीका अनुसार निरन्तर सक्रिय रूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिनेगरी उक्त राशिको अक्षयकोष स्थापना गरिएको हो । उनले भने, ‘एउटा जिल्ला स्तरीय ५१ हजारको र अर्को राष्ट्रिय स्तरीय एक लाख एक हजारको पुरस्कार प्रदान गरिनेगरी हामीले प्रस्ताव गरेका थियौं, सोही अनुसार आज सम्झौता भएको हो ।’
उनका अनुसार केही समयअघि मात्रै इटहरीका व्यवसायी तथा कांग्रेस नेता रोहित प्रसाईँले भवन निर्माणका लागि जग्गा दिएका छन् । उक्त जग्गामा भवन बन्ने गरी आफूहरूले काम सुरु गर्न लागिएको अधिकारीले बताए ।