खबर पूर्वाञ्चल
अस्पतालको गेटदेखि दायाँ र बायाँ रहेका आधा दर्जन पसलबाट निर्धक्क सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको छ । ती पसलहरूले दैनिक मोटो रकमको खैनी, पराग, गुटखा, चुरोट बिक्री वितरण गर्ने गरेका छन् । तर रोकतोक कहिँकतैबाट छैन । अस्पताल क्षेत्रमा मानिसले उडाउने गरेको चुरोटको धुँवा र थुक्ने गरेको गुटखाको पिकले जचाउन आउने विरामीहरू झनै मारमा पर्ने गरेका छन् ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले स्वास्थ्य संस्था र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकासन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १ सय मिटरको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाइने छैन भनेर स्पष्ट किटान गरिएको छ । १ सय मिटर परको कुरा त छाडदिउँ, अस्पतालले नै लगाएको सटर कवलबाट सूर्तिजन्य पदार्थको खुलेआम बिक्री वितरण हुने गरेको छ । तर अस्पताल प्रशासन लाचार छ । दिनमा सयौं थान गुटखा र चुरोटको खिल्ली निर्धक्क बिक्री वितरण हुँदा समेत अस्पताल प्रशासनले चुँसम्म गर्न सकेको छैन । अस्पताल प्रशासनभन्दा गुटखा, चुरोट लगायतका सूर्तिजन्य पदार्थ बेच्ने पसल संचालकहरू बाहुबली देखिएका छन् । ऐन नियमलाई धोती लगाउँदै ज्यानमारा सूर्ति, खैनी र चुरोट बिक्री वितरण अस्पतालले भाडा लगाएको सटर कवलबाटै गरिँदा उपचारको लागि आउने विरामीलाई समेत सकस छ ।
तत्कालिन शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूर्तिजन्य पदार्थको सार्वजनिक स्थलमा उपयोगका विरूद्ध अभियान थाले । तर उनको अभियान प्रचारवाजीभन्दा बढी हुन सकेन । घिमिरेले पसल–पसलमा गएर सूर्तिजन्य पदार्थको अनुगमन गरेको फोटो जति छिटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो त्यति नै छिटो घिमिरेको नाटक मञ्चनलाई आम सर्वसाधारणले विर्सिए । न त सूर्तिजन्य पदार्थको बिक्री वितरण न्यून भयो न त सर्वसाधारणले खैनी र चुरोट खान छाडे ।
कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न पाउने छैन भनी ऐनले किटान गरेपनि पालना कहिँकतैबाट भएको छैन । अझ कोशी अस्पताल जस्तो संवेदनशील संस्थाले लगाएको भाडाका सटरबाट सूर्तिजन्य पदार्थको बिक्रीले अस्पताल सर्वसाधारणको ज्यानको परवाह नगरी कमाउ धन्दामा लागेको देखिन्छ । अस्पतालका निमित्त मेडिकल सुप्रिन्टेन्डेन्ट डा. यज्ञराज खरेलले अस्पतालकै सटरबाट हुने गरेको सूर्तिजन्य पदार्थको बिक्री वितरण रोक्न नसकिने भन्दै लापरवाही पूर्ण प्रतिक्रिया दिए । उनले भने,‘ सटर भाडामा लगाउने अधिकार अस्पताल प्रशासनको हो, तर ती सटरबाट सूर्ति बिक्री भएको वा नभएको बारे अनुगमन गर्ने जिम्मा विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङको अधिकार क्षेत्रभित्र पर्ने कुरा हो । ’
डा. खरेलले आधिकारीक अनुगमनकर्ताले यथेष्ट प्रमाणसहित कुनै सटरले सूर्तिजन्य पदार्थ बिक्री गर्दै आएको यथेष्ट प्रमाण पेश गरे आफूले ती सटरको सम्झौता रद्द गर्ने भन्दै पन्छिए । डा. खरेलले अनुगमनको लागि सम्बन्धित निकायमा बारम्बार अनुरोध गरेको तर सुनुवाई नभएको बताउन भने पछि परेनन् । सापकोटा न्यू सृष्टि दैनिकका प्रमुख सम्बाददाता हुन् ।