खबर पूर्वाञ्चल
राजदूत भोन क्याप्लरको मुख्यमन्त्री राईसँग यो दोस्रो भेट हो । यसअघि उनीहरूबीच पुस १ गते भेटघाट भएको थियो ।
आजको भेटघाटमा राजदूत भोन क्याप्लरले पहिलेकै भेटघाटको निरन्तरताको रुपमा स्वीस सहायतामा सञ्चालनमा भएका परियोजनाका बारे थप छलफल र समीक्षा गर्न चाहेको उल्लेख गरे । यही बीचमा प्रदेश १ सरकारले स्वीस परियोजनाअन्तर्गत रहेको पद मार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुशी व्यक्त गरिन ।
विकास साझेदारहरूमध्ये आफूहरू सम्भवतः प्रदेश सरकारसँग धेरै प्रगाढ र नजिकको सम्बन्धमा रहेर साझेदारीमा काम गर्न पाएकोमा उनले थप प्रसन्नता व्यक्त गरिन । राजदुत क्याप्लरले प्रदेश १ मा लगभग २ अर्ब बराबरको सहयोग कार्यक्रम सञ्चालन भएको बताउँदै गर्दै ती कार्यक्रमबारे प्रदेश सरकारको पृष्ठपोषणको अपेक्षा रहेको उल्लेख गरिन ।
भेटघाटका अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वीस परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको मसिनो ढंगले अध्ययन गरी नसके पनि यो परियोजना प्रदेश १ लागि एकमात्रै वैदेशिक सहयोगको कार्यक्रम भएको बताए । उनले सहयोग र सहकार्य निरन्तर हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राईले संघीय प्रणाली लागू भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सरकारलाई अझ पनि अनुभवको कमी रहेको बताए । उनले जनताको अपेक्षाअनुसार पर्याप्त बजेट अभाव अहिले चुनौतीको रुपमा रहेको बताए ।