खबर पूर्वाञ्चल
गाडी मोटर साइकल मात्र होइन कुकुर बिराला र मोवाइलको समेत बीमा गर्न अगाढी नै सरेको पाइन्छ । आफु चढ्ने सवारी साधनको बीमा गर्न अगाडी सरे पनि त्यहि सवारी साधनमा यात्रा गर्ने अनि सवारी साधनसँग जोगिएर हिड्न कष्ट भोगिरहेका मान्छेले आफ्नो जीवनको बीमा गर्न हिचकिचाउँछन् । आफ्नो जीवन बीमा गर्न आफैं बीमा कार्यालय जानु पर्ने हो तर बीमा अभिकर्ताहरु उनीहरुको घर घर धाउदा पनि आनेकाने गर्न पछि पर्दैनन् । पर्ख, हेरौ भन्दै अभिकर्तालाई झुलाइरहन्छन । मानौं अभिकर्ताहरुको जीवन बीमा गरिदिनु परेको जतिकै ठान्छन् कतिपयले त । त्यसैले यसलाई प्राथमिकतामा राखेको पाइँदैन् ।
पहिला अरु व्यवहार मिलाएर बीमा पछि गरौंला भनियो भने नोक्सान आफैंलाई हुन्छ । त्यसैले जीवन बीमा जति सक्दो चाँडो गर्नुपर्छ । जति छिटो गरियो त्यति नै राम्रो हुन्छ । डिलो गरियो भने एक त प्रिमियम बढी तिर्नु पर्छ अर्काे त रोग देखियो भने बीमा गर्न पाइन्न भने त्यसै समयमा कुनै घटना दुर्घटना भयो भने झनै समस्यामा परिन्छ । त्यसैले जीबन बीमालाई हाम्रो जीवनको प्राथमिकतामा राखौं र चाँडै बीमा गरौं । बरु कम्पनीहरुले निकालेका योजनाहरु राम्ररी बुझौं र मन परेको योजना छनौट गरी आफुलाई विश्वास लागेको अभिकर्ता मार्फत जीवन बीमा गरौं ।
तर अभिकर्तालाई झुलाएर आफ्नै जीवनको अभिन्न र अमूल्य पाटो पछाडी नपारौं । अर्काे कुरा,जीवन अमूल्य छ त्यसैले रोग, शोक र अशक्तताले छुन नपाउँदै जीवन बीमा गरेर ढुक्क र सुरक्षित बनौं । तर जब रोग,शोक र अशक्तताले छुन्छ तब चाहेर पनि जीवन बीमा गर्न पाइन्न । अहिले तपाई सक्त भएर कमाउँदै हुनुहुन्छ र तपाईले स्तरीय र राम्रो जीवन जिउनु भएको छ । तर के अवकाश पछिको (कमाउन नसक्ने अवस्थाको) जीवन वा अशक्त भएको बेला पनि यस्तै स्तरीय जीवन जिउन सक्नुहुन्छ? यदि त्यतिबेला पनि यस्तै राम्रो र स्तरीय जीवन जिउन चाहनु हुन्छ भने बीमाले तपाईको त्यो चाहना पुरा गरिदिन्छ ।
यसकालागि जीवन बीमा नै उपर्युक्त माध्यम हो। तपाई सँग भएको धनसम्पत्ति जग्गा जमिन त कुनै भवितव्यले नष्ट पारिदिन सक्छ । तर बीमालाई न केहीले नष्ट पार्न सक्छ न त कसैले हरेर लान नै सक्छ । बरु तपाईको सहाराको रुपमा उ बढ्दै तपाईलाई पर्खिरहन्छ ।
जीवन बीमा नगरे के हुन्छ ?
जीवन बीमा गरे पनि नगरे पनि भविष्यमा आईपर्ने जोखिम आएरै छाड्छ । जीवन बीमा नगरेको अवस्थामा यदि कमाउने व्यक्ति स्थायी अशक्त भएमा वा मृत्यु भएमा उसको आम्दानीको स्रोत बन्द हुने र परिवारको लालनपालन र सन्तानको शिक्षा दिक्षामा समस्या आउँछ । आफ्ना बृद्ध तथा रोगी बुबा आमाको औषधी उपचारमा समस्या हुन्छ । बालबालिकाको भविष्य असुरक्षित हुन्छ र भविष्य निर्धारण गर्न सकिँदैन । घातक रोग लागेमा उपचारकालागि रकम जम्मा गर्न गाह्रो हुन्छ त्यसै गरी आफ्नो वृद्धा वस्थामा आवश्यक पर्ने खर्चको जोहो गर्न कठिन हुन्छ
भविष्यमा आउन सक्ने जोखिमलाई कसरी हस्तान्तरण गर्छ जीवन बीमाले ?
यदि जीवन बीमा गरेको छ भने त्यसले आर्थिक क्षती हुनदिँदैन ।
(क)यदि बिमित बीमा अवधीभर सकुशल रहेको अवस्थामा एउटा राम्रो बचतको रुपमा त्यो रकम सुरक्षित तरिकाले जम्मा भैरहेको हुन्छ। बीमा अवधी पूरा भएपछि जम्मा भएको रकम र त्यसको बोनस सहित एकमुष्ट रकम पाइन्छ। यसरी पाएको रकम छोराछोरीको शिक्षा दिक्षा, व्यापार व्यवसाय तथा अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।
(ख)बिमित व्यक्ति स्थायी अशक्त भएमा उसले कति रकमको बीमा गरेको छ त्यसको आधारमा प्रत्येक महिना १० वर्षसम्म घर खर्च पाउँछ। अशक्त भए सो मितिदेखि किस्ता तिर्नु पर्दैन पुरै छुट हुन्छ । बीमा अवधी पूरा भएपछि जम्मा भएको रकम र त्यसको बोनस सहित एकमुष्ट रकम पाइन्छ ।
(ग) यदि बिमितलाई प्राण घातक रोग लागेमा उसले घातक रोग बापत जतिको सुविधा लिएको छ उपचार खर्च पनि त्यति नै पाउँछ । त्यो पैसा पछि नत फिर्ता नै गर्नु पर्छ न त आफुले पाउने रकममा घटाउँछ ।
(घ) ऋण सुबिधा
बीमा गरेको तीन वर्ष पछि बिना धितो ऋण पनि लिन पाइन्छ।
(ङ) बिमितको मृत्यु भएमा
(अ)दुर्घटनाबाट बिमितको मृत्यु भएमा बीमाङ्क रकममा सोही बराबरको थप रकम र त्यस अवधीको बोनस सहित एकमुष्ट रकम परिवारले पाउँछ । –आ) यदि प्राकृतिक (रोग लागेर ) मृत्यु भएको अवस्थामा नियमित रुपमा जति किस्ता तिरेको भएपनि बीमाङ्क रकम र त्यस अवधीको बोनस एकमुष्ट रुपमा परिवारले पाउँछ। जसले गर्दा कमाउने मान्छे ओछ्यान परेको अवस्थामा होस् वा नरहेको अवस्थामा होस् बीमाले परिवारको आर्थिक क्षति हुन दिँदैन। त्यसैले त भनिन्छ नि बाचुञ्जेल आफूलाई उपदान भविष्यमा सन्ततिलाई वरदान ।
भविष्यको योजनाकालागि आफु रहँदा पनि र नरहँदा पनि परिवारको सहारा बन्छ भने भविष्यको योजनाका लागि सहायक बन्छ। त्यति मात्र होइन कमाउने मान्छे नरहे पनि परिवारको आम्दानी मर्दैन बरु आम्दानीको स्रोत बन्छ ।
बीमाका यति धेरै फाइदा र राम्रा पक्षहरु छन्। तथापी बीमा कम्पनीका मेरुदण्डका रुपमा ठूलो जिम्मेवारी बोकेर जीवन बीमा गराउन कार्यक्षेत्रमा खटेका अभिकर्ताहरुलाई हैरानी पनि त्यतिकै छ ।
बीमा गराउन कार्यक्षेत्रमा खटिएका अभिकर्ताहरुले यस्ता अनेकौं चुनौतीहरु झेल्नु परिरहेको छ ।
मसँग पैसा छैन । सोचौंला, गर्न परे पछि गरौंला । मरेपछि के को चिन्ता? बीमामा विश्वास लाग्दैन। पैसा डुब्दैन भन्ने के ग्यारेन्टी छ र? खाएर भाग्यो भने? पछि निकाल्न झंझट हुन्छ । बीमामा फाइदा हुँदैन। जग्गा जमिन धनसम्पत्ति जति पनि छ जाबो बीमाको के काम? हामीलाई बीमाको आवश्यकता छैन । आदि आदि। अभिकर्ताका अगाडि यस्ता अनेकौं समस्याहरु आएर तेर्सिन्छन् ।
यस्ता अनेकौं समस्याका बाबजुझ पनि कसैको जीवन बीमा गराइदिएर उनीहरुको जोखिम हस्तान्तरण गराउने कार्यलाई पुण्यको काम ठान्दै धैर्यता नगुमाइ निरन्तर अगाडि बढिरहन्छन अभिकर्ताहरु ।
तपाईको प्रतिक्रिया