खबर पूर्वाञ्चल
सरकारले सुनसरीको कोशी गाउँपालिकास्थित कोशी रिफ्रेसमेन्ट सेन्टर र प्रादेशिक विशेष सडक निर्माण आयोजनाको कार्यालय खारेज गरेको छ । रिफ्रेसमेन्ट सेन्टर हेर्ने जिम्मा अब यातायात व्यवस्था तथा संचार मन्त्रालयले हेर्ने भएको छ भने यस्तै प्रादेशिक विशेष सडक निर्माणको काम अब सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले गर्ने भएको छ ।
यस्तै प्रदेश १ सरकारले यसअघिको यातायात व्यवस्था निर्देशनालयलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय, धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रलाई स्वास्थ्य निर्देशनालय, इटहरीस्थित सहकारी रजिष्ट्रार कार्यालयलाई सहकारी प्रशिक्षालय इनरुवा र सुरुङ्गास्थित माटो तथा मल परीक्षण प्रयोगशालालाई कृषि ज्ञान केन्द्र झापामा समायोजन गरेको छ । यसैगरी इटहरीको रेशम प्रशोधन कार्यक्रम, धनकुटाको रेशम विकास कार्यक्रम, इलामको वागवानी केन्द्र जौवारी र सोलुखुम्बुको वागवानी केन्द्र फाप्लु पनि अब जिल्लास्थित सम्बन्धित कृषि ज्ञान केन्द्रमै गाभिएको छ ।
समान जिम्मेवारी भएका कार्यालयहरू आवश्यकता अनुसार समायोजन तथा खारेज गर्दै प्रदेश १ सरकारले विस्तारित मन्त्रालयमा पदपूर्तिको प्रक्रिया अघि बढाएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । आइतबार सरकार विस्तारपछि बसेको मन्त्रिपरिषद बैठकले कार्यालय खारेजी र समायोजनको निर्णय गरेको हो ।
मन्त्रिरिषद बैठकले प्रदेश १ का मन्त्रालय र मातहतका निकायको नयाँ संगठनात्मक संरचनालाई स्वीकृति प्रदान गर्दै त्यस अनुसार पदपूर्तिको प्र्रारम्भीक प्रक्रिया अघि बढाएको हो । सरकारले मौजुदा जनशक्तिबाटै विस्तारित मन्त्रालयमा आवश्यक दरबन्दीको पदपूूर्ति गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया