पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ

खबर पूर्वाञ्चल, ८ भाद्र २०७८, मंगलवार १९:२८

विराटनगर / मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–६ भण्डारी टोलका ३३ वर्षीय रविन तामाङ, २५ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय आइतराज तामाङ र ४० वर्षीय भाग्य बम्जन (तामाङ) छन् । रविन आइतराज र सञ्जय दाजुभाइ हन् । बम्जन रविनका जेठान हन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी श्रीमती निरुताबीच भदौ ३ गते बेलुका झगडा भएको थियो । उनीहरुलाई सम्झाउन भन्दै रविनका जेठान भाग्य बम्जन, दुर्गाबहादुर कार्की र मृतक लिम्बु रविनको डेरा पुगेका थिए ।

बम्जन मासु पसल चलाउँछन् । पसलमा आएका कार्की र लिम्बुलाई उनले साथी लिएर बहिनीको डेरामा पुगेका थिए । रविन र निरुता मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका थिए । झगडा नगर्न आग्रह गर्दा रविन, आइतराज र सञ्जयले लिम्बु र कार्कीमाथि दाउराले कुटपिट गरेका थिए ।

पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै आक्रमण भएपछि गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएको थियो । अस्पतालमा शनिबार राति उनको मृत्यु भएको हो ।

कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दामा ८ दिनको म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५