बेमौसममा निजी विद्यालयको शुल्क निर्धारण, केवल महानगरको सस्तो लोकप्रियता

खबर पूर्वाञ्चल, ५ भाद्र २०७८, शनिबार १९:१०

विराटनगर /विराटनगर महानगरपालिकाले साउन २४ गते यहाँका निजी विद्यालयलाई लक्षित गर्दै शुल्क मापदण्ड तोकेझै सूचना जारी गर्यो । महानगरको यस कदमले यहाँका निजी विद्यालय सञ्चालकहरु रुष्ट बनेका छन् ।

महानगरको शिक्षा महाशाखा अन्तर्गत रहेको शुल्क निर्धारण समितिको निर्णयलाई नै उल्ट्याउँदै बेमौसममा मापदण्ड सार्वजनिक गरेको भन्दै निजी विद्यालयहरुले त्यसको तिब्र विरोध गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन विराटनगर महानगरका अध्यक्ष इन्द्र राईले महानगरको यो निर्णय अभिभावकमा भ्रम फैलाउने किसिमको मात्र रहेको बताए । ‘यो निर्णय निजी विद्यालयलाई ध्वस्त बनाउने अभिप्रायले मात्र आएको देखिन्छ,’उनले भने, ‘शुल्क निर्धारण समितिले निर्णय गरेर विद्यालयले सोहि अनुशार कार्यान्वयन गरिसकेको अवस्थामा शुल्कको बहानामा बखेडामात्र निकाल्न खोजिएको छ ।’

महानगरको सूचना प्रकाशित भएसँगै सञ्चारमाध्यममा ५० प्रतिशत मात्र शुल्क लिन महानगरको निर्देशन भन्ने समाचारहरु आएपछि प्याब्सन डेलिगेसन नै गएको थियो । डेलिगेसनका क्रममा भने अनलाईन माध्यमबाट पढाई हुने विद्यालयको हकमा शतप्रतिशत शुल्क लिन पाउने भन्ने जवाफ दिइएको अध्यक्ष राईले बताए । उनले भने ‘कोभिड– १९ का कारण अभिभावक मात्र नभई निजी विद्यालयहरु पनि संकटमा रहेका छन्, यस्तो संकटमा अभिभावक र विद्यालय दुवै बाँच्ने गरि ब्यवहारिक रुपमा शुल्क लिने गरिएको छ ।’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन अफ नेपाल (एनप्याब्सन)का विराटनगर महानगरका संयोजक राजन छाराहाङले महानगरको परिपत्रमा नयाँ बिषय खासै नभएपनि भ्रम मात्र फैलाएको बताए । उनले निजी विद्यालयका प्रतिनिधि नराखी महानगरले निर्णय सार्वजनिक गर्दै गलत प्रचार गराउँदा समस्या भएको समेत बताए । यस्तै निजी विद्यालय सञ्चालक तथा प्याब्सनका केन्द्रीय सचिव राजेशकुमार दासले महानगरको यो निर्णय असान्दर्भिक रहेको बताए । उनले संकटमा रहेर पनि निजी विद्यालयहरुले निर्वाह गरेको भूमिकाको वेवास्ता गर्दै महानगरपालिकाले हुकुमी शैली देखाएको बताए ।

शुल्क निर्धारण जस्तो विषयमा सरोकारवाला पक्षहरु (स्टेक होल्डर) प्याब्सन, एनप्याब्सनलगायत सँग परामर्श नगरि लागु गर्ने निर्णय कार्यान्वयन हुन नसक्ने सचिव दासले बताए । ‘महानगरको उद्देश्य निजी विद्यालयलाई दु:ख दिने मात्र रहेको देखिन्छ, उनले भने, भौतिक रुपमा विद्यालयमा पठनपाठन हुन नसकिरहेका बेला बैकल्पिक शिक्षालाई थप प्रभावकारी बनाउन ध्यान नजानु दुःखद रहेको उनले बतालिमपछि ।’ विपन्न समुदायका बालबालिकाका लागि ल्यापटप, मोबाईल खरिदमा सहुलियत दिने, विभिन्न स्थानमा फ्रि इन्टरनेटको व्यवस्था गर्ने, रुग्ण विद्यालयलाई ‘सपोर्ट’ गर्नेजस्ता विषयमा महानगरको कहिल्यै ध्यान जान नसकेको भन्दै सस्तो लोकप्रियताका लागि गर्ने यस्ता निर्णयले निजी विद्यालयलाई धराशायी मात्र बनाउने उनले बताए।

प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले मोरङका १७ स्थानीयतह मध्ये विराटनगरमा मात्र यस्तो समस्या देखिएको बताए । उनले भने,‘महानगर निजी विद्यालय मैत्री छैन भन्ने देखाउँछ ।’

पछिल्लो समय मेयर पराजुलीका गतिविधिको आलोचना हुँदै आएको छ । कोरोनाको संक्रमणको दर उच्च रहेका बेला सवै नागरिकलाई सेवाको व्यवस्था मिलाउनुको साटो कार्यकर्ताको घरघरमा आफै अक्सिजन सिलिण्डर पुर्याउने काम गरेको, आफ्ना र व्यवसायीक घरानाका मानिसहरुलाई लुकाई लुकाई खोप लगाएको घटनाले बदनाम गरेको थियो । अझ केहि साताअघि मात्र आफ्ना कायकर्ताका लागि मात्रै मध्येरातमा खोप लगाउँदै गर्दा स्थानीयले लेखेटेको समाचार बाहिरिएपछि उनलाई निकै संकट आइपरेको थियो । यस्ता अनेक घटनालाई ढाकछोप गर्दै महानगरबासीको सहानुभूति लिन उनले शिक्षा महाशाखाको प्रयोग गर्दै निजी विद्यालयमाथि आक्रमण गर्न खोजेको निजि विद्यालय सञ्चालकहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५