खबर पूर्वाञ्चल
आफू निकटका स्रष्टालाई सम्मानमा समावेश गराउन मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री र छनौट समितिका सदस्यहरू लागि पर्दा छनौटमा समस्या भएको बताइएको छ । साहित्यकार खेम नेपालीको संयोजकत्वमा मन्त्रालयले छनौट समिति गठन गरेको थियो । “छनौट समितिले आफू नजिकका स्रष्टाको नाम ल्याउने र मन्त्रीज्यूले पनि आफ्ना मान्छे पार्न खोज्दा यसपटक निकै समस्या भयो,” मन्त्रालयका एक कर्मचारीले भने, “स्रष्टा भनेका प्रदेशका गहना हुन् उनीहरूको सम्मानमा पनि यति धेरै राजनीति हुनु दुर्भाग्य हो ।”
ती कर्मचारीकै शब्दमा बैठकैपिच्छे स्रष्टाको नाम परिवर्तन हुने गरेको छ । एउटै स्रष्टाको नाम चार पटकसम्म काटिएको उनको भनाइ छ । समितिका एक सदस्यका अनुसार मुख्यमन्त्री राईले पनि आफ्ना केही मान्छेलाई मन्त्रीमार्फत सम्मानको सूचीमा समावेश गरेको बताइएको छ । छनौट समितिले सम्मान हुने स्रष्टाको नामावली दिंदा मन्त्री राईले मुख्यमन्त्रीलाई देखाउनुपर्छ भन्दै पन्छिएको ती सदस्यले सुनाए । उनका अनुसार यसअघिका मन्त्री जीवन घिमिरेले छनौट समितिले ल्याएका नामलाई नै सदर गर्ने गरेका थिए ।
मन्त्रालयले असार १३ गते सूचना प्रकाशित गर्दै सम्मान लिन चाहने स्रष्टाहरूको व्यक्तिगत वितरण माग गरेको थियो । असार २३ गतेभित्र प्राप्त व्यक्तिगत विवरणका आधारमा सम्मान गर्ने भनिएको थियो । तर, राजनीतिक दबाबका कारण व्यक्तिगत विवरण नबुझाएका स्रष्टाहरूलाई समेत अन्तिम समयमा आएर समावेश गरिएको छनौट समितिका अर्का सदस्यले बताए । “यतिसम्म राजनीति भयो कि यो सम्मान लिनुभन्दा नलिनु नै उत्तम देखें मैले,” ती सदस्य भन्छन्, “स्रष्टाको योगदानभन्दा पनि राजनीतिकमा सक्रियताका आधारमा नाम समावेश हुने अवस्था आएको छ । अझ केही व्यक्तिको त मुख्यमन्त्री र मन्त्रीसँगको राम्रो सम्बन्धका कारण नाम समावेश हुने पक्का भएको छ ।”
त्यसो त मन्त्रीको सचिवालयका केही व्यक्तिले छनौट समितिमाथि नै प्रश्न उठाएका थिए । छनौटमा निष्पक्षता नभएपछि मन्त्रीले हस्तक्षेप गर्नुपरेको सचिवालयका ती सदस्यले बताएका थिए । “चिया खाएकै ठाउँबाट समितिमा आबद्ध व्यक्तिले फोन गरेर कतिपय स्रष्टालाई तिम्रो नाम पारिदिएको छु भन्दै जस लिने गरेको पनि पाइयो,” मन्त्रीका ती सहयोगीले भने, “त्यही भएर मन्त्रीले हस्तक्षेप गर्नु परेको हो ।”
निकै रस्साकस्सीका बीच सम्मानित स्रष्टाहरूको नाम टुंगो लागेको ती कर्मचारीले बताए । प्रदेशमा जन्मिएका तर लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका स्रष्टालाई समेत दबाबमा सम्मानको सूचीमा पारिएको ती कर्मचारी बताउँछन् । “यो पटकको सम्मान उद्देश्यभन्दा बाहिर गएको जस्तो लागिरहेको छ,” उनले थपे, “प्रदेशमै बसेर आफ्नो क्षेत्रमा योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्नुपथ्र्यो तर काठमाडौंमा बस्नेलाई पनि सम्मान गर्न लागिएको छ । त्यसो भए त प्रदेश–१ मा जन्मिएका र अहिले अमेरिकामा बस्ने स्रष्टालाई सम्मान गर्दा भइगयो नि ।”
स्रष्टाको पार्टी निकटका व्यक्तिलाई सम्मान गर्दा गत वर्ष पनि स्रष्टाहरूले असन्तुष्टि जनाएका थिए । यस वर्ष योगदान, सक्रियता र वरिष्ठतालाई लत्याउँदै राजनैतिक भनसुन, सोर्सफोर्सका आधारमा साहित्य–कला र संस्कृतिमा चर्चामै नरहेका कनिष्ठ व्यक्तिलाई सम्मान गर्न लागिएको ती सदस्यले बताए । अघिल्लो वर्षभन्दा यसपटक दुई सय गुणा बढी राजनीतिककरण भएको समितिकै सदस्य बताउँछन् । “लगभग नाम टुंगो लागिसकेको छ,” उनले भने, “तर जति नाम आएका छन् केहीबाहेक सन्तुष्ट हुने ठाउँ छैन ।”
स्रष्टाको सही मूल्यांकन भएन भने मन्त्री र छनौट समितिविरुद्ध आमरण अनसनमा बस्ने सत्तारुढ दल निकटकै स्रष्टाले चेतावनी दिए । साहित्य र कलाकारितामा लामो समयदेखि योगदान पु¥याउँदै आएका ती स्रष्टाले भने, “समाजका विकृति र विसंगतिविरुद्ध लेख्ने स्रष्टा समिति र मन्त्रीले जे–जे गर्छन् चुप लागेर हेरेर बस्नुहुँदैन ।” मुलुकमा गणतन्त्र स्थापनामा राजनैतिक दलभन्दा स्रष्टाको योगदान कम नभएको ती स्रष्टा बनाउँछन् ।
प्रदेश सरकारले हरेक वर्ष १ जना स्रष्टालाई १ लाख र अन्य एक दर्जन स्रष्टालाई ५० हजार राशिले पुरस्कृत गर्दै आएको छ । यसपटकदेखि ५ जनालाई नवोदित स्रष्टा भनेर समेत सम्मान गर्ने तयारी छ । सम्मान गर्ने १८ स्रष्टाको नाम गत शुक्रबार टुंगो लगाए पनि विवादका कारण सार्वजनिक गर्न नसकेको ती सदस्यले बताए ।