खबर पूर्वाञ्चल
थुनछेक बहसपछि आज विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए । आज विहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए । पटक–पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो ।
देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन यसअघि गच्छदारले आग्रह गर्दै आएका थिए । देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहेका थिए । देउवा प्रधानमन्त्रीको सपथ खाएको २४ घण्टा वित्न नपाउँदै आज गच्छदारले अदालतमा आत्मसमर्पण गरेका थिए ।
गत वर्ष फागुनमा विशेष अदालतले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए । उनको नाममा पुनः म्याद जारी गरेको थियो । अदालतले दोस्रोपटक गच्छदारको काठमाण्डौको स्थायी ठेगानामा म्याद जारी गरेको थियो । यसअघि सुनसरीमा म्याद तामेल भएको थियो । तर, उक्त तामेल अवधिमा उपस्थित नभएपछि विशेष अदालतको इजलासले पुनः काठमाडौंको स्थायी ठेगानामा म्याद तामेल गर्न आदेश गरेको थियो । उक्त आदेशपछि काठमाडौंको स्थायी ठेगानामा तामेल गरिएको थियो ।
गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोग पत्रमा उल्लेख छ । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।